मतदातालाई समेत कार्वाही गर्न अध्यक्ष ओलीसङ्ग एमाले नेताको अनौठो माग
स्थानीय चुनावको परिणामलाई लिएर शीर्ष तहमा आपसी अविश्वास बढेका बेला प्रदेश नम्बर १ का पूर्वमुख्यमन्त्री तथा एमाले पूर्वसचिव भीम आचार्यले सूर्यमा भोट नहाल्ने मतदातालाई पनि कारवाही गर्नुपर्ने माग गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पराजयमा अन्तर्घातलाई प्रमुख कारण ठहर्याएपछि नेताहरु दन्तबझानमा रहेकै बेला पूर्वमन्त्री तथा स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि कार्वाहीको सिफारिस गर्ने अनुशासन आयोगका अध्यक्ष केशव बडाल र पार्टी अध्यक्ष ओली विरूद्ध आचार्यको यस्तो कटाक्ष आएको हो ।
आयोगले देशभरबाट अन्तरघातीहरुको रिपोर्ट संकलनको काम शुरु गरेको भनिएका बेला उनले मत नहाल्ने मतदातालाईसमेत कारवाहीको सिफारिस गर्न बडाललाई चेतावनीपूर्ण कटाक्ष गरेपछि एमालेमा चुनावी लफडा थप चर्किने देखिंदैछ ।
यसअघि आयोगले अध्यक्ष ओलीको आलोचना गरेको भन्दै पूर्वमन्त्री तथा स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारवाही गर्न पार्टीलाई सिफारिस गरेको थियो ।
‘हामीले गरेको निर्णय ठीक हो भनेर नबोल्नेलाई या गलत हो भनेर बोल्नेलाई र सबैभन्दा महत्वपूर्ण कुरा हामीले निर्णय गरिसकेपछि मत नहाल्ने मतदातालाई कारवाहीको सिफारिस अनुशासन आयोगले गरोस् ।’
आयोगको उक्त निर्णयले पार्टीपंक्तिमा मच्चिएको हलचल मत्थर नहुँदै कुनै बेला भुसालसँगै एकै समूहमा रहेका आचार्यले पार्टी निर्णयको पक्षमा नबोल्नेहरु सबै कारवाहीको भागिदार हुनुपर्ने बताएका हुन् ।
‘एउटा निर्वाचनको अध्याय सकियो,परिणाम सामुन्ने छ र अर्को निर्वाचन आउन बाँकी छ । अब यो वीचमा कारवाहीको प्रक्रिया आरम्भ गर्नुपर्छ’,उनले सामाजिक सञ्जालमा लेखेका छन्,’हामीले गरेको निर्णय ठीक हो भनेर नबोल्नेलाई या गलत हो भनेर बोल्नेलाई र सबैभन्दा महत्वपूर्ण कुरा हामीले निर्णय गरिसकेपछि मत नहाल्ने मतदातालाई कारवाहीको सिफारिस अनुशासन आयोगले गरोस् ।’
मतदातालाई समेत कारवाही गर्नुपर्ने माग अनुशासन आयोग र अध्यक्ष ओलीप्रति नेता आचार्यको असन्तुष्टीका रुपमा आएको अनुमान गरिए पनि प्रष्ट खुलाएर भने लेखिएको छैन ।
टिप्पणीहरू