१४ जनाको हस्ताक्षरपछि काठमाडौंको फोहोर उठ्ने
काठमाडौं उपत्यकाका सडकमा हप्तौंदेखि थुप्रिएको फोहोर भोलिदेखि उठ्ने भएको छ । आज शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिले ११ बुँदै प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेपछि फोहोर उठ्ने निश्चित भएको हो ।
प्रतिबद्धतामा ल्याण्डफिल साइटबाट प्रभावित क्षेत्रमा मन्त्रालयले आगामी आर्थिक वर्षको निम्ति ४४ करोड बढी रुपैयाँ छुट्टयाएको छ । जसमा पाँच वटा सडक, नदी नियन्त्रण, मन्दिर, सामुदायिक भवन निर्माण र वृक्षारोपण गर्ने भनिएको छ ।
त्यसैगरी जग्गा अधिग्रहणको निम्ति आवश्यक प्रतिवेदनपछि कार्य थालनी गरिने र उक्त क्षेत्रमा १० बेड अस्पताल निर्माणको निम्ति स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने भनिएको छ ।
त्यसैगरि प्रभावित क्षेत्रका स्थानीयलाई एक हप्ताभित्र स्वास्थ्य बीमा गर्ने, सो क्षेत्रको पूर्वाधार विकासलाई निरन्तरता दिइने, नाष्टको प्रतिवेदनको आधारमा १० दिनभित्र दुर्गन्ध हटाउने भनिएको छ ।
साउन १ गतेदेखि उपत्यकामा उत्पादन हुने फोहोरलाई स्रोतमै वर्गिकरण गर्ने र सिसडोलको ल्याण्डफिल साइटलाई छ महिनाभित्र पोष्ट क्लोजरको प्रक्रियामा लैजाने सहमति पनि भएको हो ।
उक्त प्रतिबद्धतामा मन्त्रालय, महानगर, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाका प्रतिनिधिले दस्तखत गरेका छन् ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्री, मेयर बालेन साह, उपमेयर सुनिता डंगोल, मन्त्रालयका सचिव, नगरपालिका र गाउँपलिकाका प्रमुखलागयतका रोहबरमा उक्त सम्झौता गरिएको हाे ।
टिप्पणीहरू