मानव तस्करीको आरोप लागेका पुन अध्यक्षमा

मानव तस्करीको आरोप लागेका पुन अध्यक्षमा

संखुवासभाको चिचिला गाउँपालिकामा यसअघि विवादमा परेका व्यक्ति पुन: जनप्रतिनिधि चुनिएका छन् । नेपाली कांग्रेसबाट पासाङ नुर्बु शेर्पा पुन यसरी दोहोरिएका हुन् ।

गाँउपालिकाको लाखौं रकम खर्चेर झण्डै एक दर्जनको टोली नै अमेरिका लाने योजना बनाएका व्यक्तिलाई चिचिलावासीले आफ्नो अभिभावक रोजेका छन् । अहिले पनि बेलाबेलामा उही कर्तुतलाई लिएर उनको परिचर्चा भइरहेको पाइन्छ । अध्यक्ष शेर्पाले गत वर्ष गरेको कर्तुत यति छिटै स्थानीयले बिर्सिएका हुन् ?

उनले गत वर्ष पुसमा आफूसहित नौ जना अमेरिका जाने योजना बनाएका थिए । अमेरिकामा हुने छैटौं स्मार्ट सिटिज टेक्नोलोजी सिम्पोजियम एण्ड एक्जिबिसनको बहाना बनाउँदै गाउँपालिकाको खर्चमा बाहिर जाने योजना बुनियो ।

भ्रमणका निम्ति ७६ लाख ९६ हजार खर्च लाग्ने हिसाब पालिका आफैले निकाल्यो । पछि चौतर्फी विरोध भएपछि अध्यक्ष शेर्पाले सबै खर्च आफैले व्यहोरेको दाबी गरेका थिए । कार्यक्रममा सहभागी हुन पालिकाका अध्यक्ष शेर्पासहित राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा,राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडालगायत जाने भनिएको थियो ।

त्यसैगरी, महिला आयोगकी उपसचिव अञ्जु ढुंगाना,नायब सुब्बा मेगेन्द्र न्यौपाने, छोरा थिलेन शेर्पा, नरेश रिजाल, सुजिना भट्ट र दिपेश रिजाललाई पठाउने निर्णय गरिएको थियो । उनले प्रक्रियासमेत अघि बढाइसकेका थिए । अध्यक्षमा युवा नेतृत्व निर्वाचित हुँदा हर्षित भएका चिचिलावासी यो खबर सुनेर एकाएक स्तब्ध बने ।

“हिजो उनीविरुद्ध खनिएका जनता आज किन उनकै समर्थनमा उत्रिए ? उम्मेदवार फटाहा छ भनेर थाहा हुँदाहुदै पनि उनलाई किन चुनियो ?”

यो निर्णयले गाउँपालिकाको इज्जतमाथि नै प्रश्न खडा भन्दै औंला ठड्याउनेहरुको ओइरो लाग्यो । स्मार्ट सिटी प्रर्दशनी मेलामा अमेरिका जाने विषयले उनीहरु निकै आक्रोशित बनेक । साथै, अध्यक्षलाई पालिकावासीले खुलापत्रसमेत बुझाए ।

अध्यक्षले आफूलाई चोखो साबित गर्न प्रष्टीकरण दिएपछि थप शंकाको नजरले हेरिएको थियो । बिजुली,खानेपानी र सडक नपुगेको पालिकालाई स्मार्ट सिटी बनाइहाल्नुपर्ने आवश्यकता किन पर्यो भन्दै आलोचना पनि नभएको होइन् ।

स्मार्ट सिटी हेर्न अमेरिका नै किन जाने ? अनि आफ्नै छोरालाई किन लैजाने ? अरु जनप्रतिनिधि लैजाँदा किन नहुने ? छोरालाई पालिकाको सिफारिसमा अमेरिका घुमाउन लैजानु कुन नैतिकता भित्र पर्छ ?

चिचिलामा स्मार्ट सिटी बनाउने कार्यक्रममा दलित आयोग र महिला आयोगको पदाधिकारीहरुको खाँचो पालिकालाई किन पर्यो ? भन्दै विरोध चर्कियो । अध्यक्षमाथि मानव तस्करी गर्न लागेको आरोपसमेत लाग्यो ।

अन्ततः स्थानीयले गरेको प्रश्नको उचित जवाफ दिन नसकेपछि अध्यक्षले निर्णय नै फिर्ता लिनुपरेको थियो । तर,फेरिपनि उक्त पालिकामा उही व्यक्ति जनप्रतिनिधि भएका आएका छन् । पहिल्यै विरोध गर्नेले नै उनलाई भारी मत दिएर विजयी बनाएका हुन् ।

यसले जनतामा चेतना कति छ भनेर स्पष्ट बनाएको छ । हिजो उनीविरुद्ध खनिएका जनता आज किन उनकै समर्थनमा उत्रिए ? उम्मेदवार फटाहा छ भनेर थाहा हुँदाहुदै पनि उनलाई किन चुनियो ?

आफ्नो गाउँपालिकाको छविमाथि लागेको दाग त अझैपनि नबिर्सिनुपर्ने हो । तर, नेपालको सन्दर्भमा हेर्ने हो भने जहिले पनि गलत व्यक्तिको हातमा सरकार चलाउन दिने प्रवृत्ति छ । यसको उदाहरण यही घटनाले समेत दिइसकेको छ । एकचोटि आरोपित व्यक्तिलाई आफैले मत दिएर चुन्ने अनि भोलि उसले भ्रष्ट्राचार गप्यो, काम गरेन भन्ने । अनि आखिर दोषी को !

टिप्पणीहरू