कैलालीमा ठगी मुद्दा : वादी भन्छन् ‘रकम तिरेन’,प्रतिवादी भन्छन् ‘राजनीतिक प्रतिशोध’
कैलाली जिल्ला अदालतमा चेक अनादर र ठगीसम्बन्धी मुद्दा दायर भएको छ । गोदावरी नगरपालिका ५ का तारिणीदत्त भट्टले डोटीका अमृतकुमार वलीविरुद्ध उक्त मुद्दा हालेका हुन् ।
न्यु एमटी सप्लायर्स फर्म सञ्चालन गरिरहेका भट्टले दायर गरेको मुद्दामा ओलीले कैलालीका धेरै ठाउँमा आफ्नो फर्मबाट लगेको सामानको लाखौं रकम भुक्तानी नगरेको दाबी गरिएको छ । प्रतिवादी वलीले भट्टलाई ‘आफूले कैलालीको पूर्वी भागमा धेरै व्यापारीलाई चिनेको विश्वास दिलाएर विभिन्न सामान आफैैंले बेचबिखन गराइदिने र बिक्रीपछि प्राप्त हुन आउने नाफा दुबैले मिलेर बुझ्ने सहमति,’ गरे पनि उनले नाफा मात्रै होइन, साँवा नै नदिएको आरोप लगाएका छन् ।
लाखौंको सामान लगेको, प्रारम्भमा व्यापारीहरुकै नाममा बिल बनाएर लाने गरेको र बिक्रि भएपछि सामानको रकम र नाफा बाँड्ने गरे पनि पछिल्लो समयमा रकम नतिरेको बताइएको हो । जाहेरीमा लेखिएको छ, ‘उनले आफ्नै नाममा बील बनाई धेरै गाडीका गाडी सामान उधारोमा लगे तर त्यसको भुक्तानी गरेनन् ।’
अदालतमा दायर फिराद पत्रमा लेखिएको छ, ‘सामान लगेपछि पुरानो रकम तिरेर नयाँ सामान उठाउनुस्’ भन्दा वलीले आफैंले सञ्चालन गरेको सप्लायर्सको नाममा रहेको बैंक खातामा पैसा जम्मा गर्ने गरेको पाइयो ।’ ओलीले आफ्नो नाममा रहेको बैंक अफ काठमाडौंको लम्की शाखामा रहेको खाता नम्बर १८५२०००००१०५५२४ को चार वटा चेकबाट केही रकम भुक्तानीको लागि दिए पनि पैसो नपाइएको भट्टको भनाइ छ ।
उनले उल्लेख गरेका छन्, चार वटा चेकबाट २० लाख ९६ हजार रुपैयाँ भुक्तानी हुनुपर्नेमा खातामा पर्याप्त मौज्दात देखिएन । त्यसैले निजबाट साँवा रकम र सोको ब्याजसहित उपलब्ध गराइपाऊँ।
पीडित भनिएका भट्टले जनआस्थासँग कुरा गर्दै भने,‘चार वर्षअगाडिको कुरा हो । साथीमार्फत अमृतलाई चिनेको हुँ । पछि मबाट सामान लगेर बिक्री गर्दै अगाडि बढ्ने क्रममा व्यापारिक सम्बन्ध नजिकिँदै गयो । व्यापार पनि राम्रो भइरहेको थियो । तर तिर्नुपर्ने रकम बढ्दै गएपछि खटपट शुरु भएको हो । ’
भट्टका अनुसार झण्डै ८० लाख नै उधारो हुन थालेपछि भुक्तानीको निम्ति विशेष जोड दिन थालियो । तर अमृतले रकम नदिएर तर्किन थालेपछि शंका लागेको उनी बताउँछन् । उनका अनुसार ओली अहिले पनि डोटीमा छन् । मोटो रकम भएकाले सकेसम्म नतिर्नको निम्ति उनले राजनीतिक दल नै परिवर्तन गरेको हुनसक्ने वादी भट्टको भनाइ छ ।
‘पैसा दिनु पर्छ भनेर अहिले एमालेमा प्रवेश गरेको भन्नेहरु पनि छन्,’ उनले भने । यसअघि अमृत ओलीले एमाले छाडेर नेकपा एकीकृत समाजवादी रोजेका थिए । तर अहिले फेरि एमाले फर्केका छन् । यसबीच केही साथीभाइ र आफन्तमार्फत् खबर पठाउँदा पनि उनले तिर्न बाँकी रकम नरहेको खबर पठाएको र सम्पर्कमा आउनसमेत नचाहेपछि अदालत गुहार्नु परेको उनको भनाइ छ ।
गत जेठ १० गते अदालतमा पेश गरिएको फिरादपत्रमा पटक पटकको भेट र फोनमा समेत सम्पर्क गरेर चार वटै चेकमा रकम नभएको जानकारी बैंकबाट गराएको पीडित बताउँछन् । तर वलीले ग्राहकबाट केही रकम उठ्न बाँकी रहेकाले उठेपछि तिर्ने र दुई महिना पर्खिन आग्रह गरेको पनि भट्टले बताए । उनले भने, ‘विश्वास गरेर सोहीबमोजिम गर्दासमेत पैसा पाइएन । “
समय बित्दै जाने क्रममा पैसा दिने छाँट नदेखाएका ओलीलाई पुनः सम्झाउँदा ‘जे सुकै गर्नुस्,अब म पैसा तिर्न सक्दिन,’ भन्ने जवाफ आएपछि आफू बाध्य भएर अदालत पुगेको भट्टको दाबी छ ।
यता, मुद्दाका प्रतिवादी वलीलाई अदालतले आगामी असार १० गते बुधबारका दिन हाजिर हुन पत्र काटेको छ । तर वलीले आफूलाई राजनीतिक प्रतिशोध साँधेर पछिल्लो गतिविधि चालिएको ठहर गरे । उनले आफूले पटक पटक कृषि विकास बैंकमा रहेको भट्टको खातामा रकम पठाएको दाबी गरेका छन् । जनआस्थासँगको कुराकानीपछि उनले बैंकमा विभिन्न मितिमा जम्मा गरेका भौचरको प्रतिलिपी पठाएका छन् । उनी भन्छन्, ‘अब कुनै पैसा तिर्न बाँकी छैन । मलाई फसाउन यी सबै षड्यन्त्र भएका हुन् ।

पीडित भनिएका भट्टले प्रतिवादी ओलीको तर्कको खण्डन गरेका छन् । उनले ती भौचरहरु सबै पुरानो भएको दाबी गरे । ‘बाँकी रकम नतिर्न उनले यो सबै नाटक रचेका हुन् । अब मुद्दा पेस भइसकेकाले वलीले नदिएको रकम उपलब्ध गराएर आफूलाई अदालतले न्याय दिने कुरामा ढुक्क छु,’ भट्टले भने ।
टिप्पणीहरू