भारतीयसंग दूतावासले विवरण माग्यो
नेपालमा रहेका भारतीय नागरिकले अब काठमाडौँस्थित दूतावासमा आफ्नो विवरण दर्ता गराउनुपर्ने भएको छ । भारतीय दूतावासले एक सूचना जारी गर्दै कुनै पनि कूटनीतिक सुविधा पाउनका निम्ति विवरण दर्ता गर्न आफ्ना नागरिकलाई भनेको हो ।
यसका लागि दूतावासको वेबसाइटमा गएर अनलाइन अपोइन्टमेन्ट बुक गर्न सकिने सूचनामा उल्लेख छ । ‘नेपालमा बसोबास गरिरहेका भारतीय समुदायलाई काठमाडौँस्थित भारतीय दूतावासमा दर्ता हुन अनुरोध गरिएको छ,’ सूचनामा भनिएको छ ।
दर्ताका लागि जाँदा राहदानी वा मतदाता परिचयपत्रको सक्कल प्रति समेत लिएर जान अनिवार्य गरिएको छ । नेपालमा बसोबास गरिरहेको ठाउँको ठेगाना साथै रोजगारी, सेवा वा अध्ययन गरिरहेको भए सम्बन्धित निकायबाट त्यसको पनि प्रमाण पेस गर्न दूतावासले भनेको छ ।
बिजुलीको बिल वा घरधनीबाट भाडामा बसिरहेको भन्ने जानकारी पत्र पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।
विवरण दर्ताका लागि सेतो पर्दामा लिइएका दुईवटा पासपोर्ट साइजका फोटो अनिवार्य गरिएको छ ।
टिप्पणीहरू