अछाम घटनाका दोषीलाई कारबाही गर्न सभामुखको निर्देशन
सभामुख अग्निप्रसाद सापकोटाले अछामको पञ्चदेवल नगरपालिका-४ कालिकास्थान कुच्चीका विनोद शाहीको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिनुभएको छ । घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारबाही गर्न आज प्रतिनिधिसभा बैठकबाट सभामुखले गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिनुभएको हो ।
त्यसअघि संसद्को विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद यज्ञबहादुर बोगटीले शाहीको शव भेटिएको नौं दिन भईसक्दा पनि जाहेरी दर्ता नभएको भन्दै आपत्ति जनाउनुभएको थियो । साथै, उहाँले सभामुखमार्फत गृहमन्त्रीको ध्यानाकर्षण पनि गराउनुभएको थियो ।
घटनालगत्तै गृहमन्त्रीलाई ध्यानाकर्षण गरेको भएपनि त्यहाँको नगर प्रशासन र प्रहरीले अझै नटेरेको भन्दै उहाँले गुनासो पनि गर्नुभयो । सांसद बोगटीले पीडित पक्षको जाहेरी दर्ताका लागि निर्देशन दिन सरकारलाई आग्रह पनि गर्नुभएको थियो ।
एउटा विद्यार्थीको हत्या हुदाँ पनि सरकार गम्भिर नभएको भन्दै सांसद बोगटीले भन्नुभयो, ‘शाहीको लास भेटिएको आज नौं दिन भएको छ । अझै लास घटनास्थलबाट उठेको छैन । प्रशासनले टेरेको अवस्था छैन, हत्यारालाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको छैन, मुद्धा दर्ता गरेको छैन, लासको पोष्टमार्टम गरेको छैन । त्यति हुदाँ पनि सरकारले सुनेको छैन् ।‘
त्यसलगत्तै सभामुख सापकोटाले भन्नुभयो, ‘माननीय सदस्यले उठाउनु भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई निर्देश गर्दछु ।‘
गत शनिबार बिहान १० बजेको समयमा शाहीको हत्या गरि फालिएको अवस्थामा घर नजिकैको जंगलमा लास फेला परेको थियो । त्यस्तै, पीडित पक्षले शाहीको हत्या भएको दाबी गर्दै नगरप्रमुख र प्रहरी प्रशासनको संलग्नता रहेको आरोप लगाउँदै आएका छन् ।
टिप्पणीहरू