विश्वविद्यालयमा अघिल्लो वर्ष र यो वर्षको प्रश्नपत्र हुबहु, केन्द्रीय विभागका प्रमुख दोषी रहेको विद्यार्थीहरुको आरोप
लाखौँ विद्यार्थीको भविश्य जोडिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को गैरजिम्मेवारपूर्ण हर्कतले सीमा नाघेको छ । हालैसालै सम्पन्न स्नातकोत्तर तहको परीक्षामा अघिल्लो वर्षको प्रश्न हुबहु दोहोरिएको भन्दै विवाद चर्किएको अवस्थामा मानविकी तथा सामाजिकशास्त्र संकायले फेरि त्यस्तै अर्को गल्ती दोहोर्याएको हो ।
अस्तिदेखि सञ्चालित स्नातकोत्तर तहको पहिलो सेमेष्टरको राजनीतिशास्त्र विषयको प्रश्नपत्र पनि गत वर्षको प्रश्नपत्रसँग दुरुस्त मेल खाएको छ । अन्तर्राष्ट्रिय राजनीति (इन्टरनेशनल पोलिटिक्स–५५३) विषयको अन्तिम परीक्षामा अघिल्लो वर्षको प्रश्नपत्र दोहोरिएपछि विद्यार्थीहरु अलमलमा परेका हुन् ।
सन् २०२० र २०२१ को परीक्षामा प्रश्नपत्र एउटै पाइएपछि गोपनीयतामाथि नै प्रश्न चिन्ह खडा भएको छ । अहिले सन् २०२१ को परीक्षा सञ्चालन भइरहेको र सन् २०२० को परीक्षामा आएका प्रश्नहरु सबै मेल खाएको घटना सामान्य होइन भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।
अन्तर्राष्ट्रिय राजनीति–५५३ को पहिलो खण्डको लामो उत्तरको १० नम्बरको तीनवटै प्रश्नपत्र हुबहु मिलेको छ । दोस्रो खण्डको ५÷५ नम्बरको १० वटा प्रश्नहरु क्रम संख्या तलमाथि गरेर सबै मिलेको देखिन्छ । २०२१ को परीक्षाको प्रश्नमा २०२० मा सोधिएको ११ नम्बरको प्रश्न ४ मा, १२ नम्बरको ६ मा, ७ नम्बरको ८ मा, ८ नम्बरको ९ मा, ९ नम्बरको १० मा, १० नम्बरको ११ मा र ४ नम्बरको १२ नम्बरमा सोधिएको छ । ५ र १३ क्रमसंख्या उही देखिन्छ ।
यता विद्यार्थीहरुले मानविकी संकायका डीन प्रा. डा. कुसुम शाक्य, परीक्षा बोर्डका सहायक डीन प्रा.डा. तारा भुसाल, प्रशासन तथा परीक्षा गोप्यशाखामा संलग्न कर्मचारीहरुलाई तत्काल निलम्बन गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसामु छानबिनको माग गरेका छन् ।
सम्बन्धित विषय समितिको अध्यक्षसमेत रहेका राजनीतिशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख रामकृष्ण तिवारी प्रश्नपत्र दोहोरिएकोप्रति प्रमुख जिम्मेवार रहेको बताइएको छ ।
टिप्पणीहरू