तल–माथि यिनैको मात्रै तरक्की

तल–माथि यिनैको मात्रै तरक्की

सामान्य प्रशासनमा अहिले अड्डा जमाएर बसेका एक उपसचिव किन र कसरी मधेश प्रदेशबाट लखेटिन पुगे भन्ने कथा रोचक छ । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकामा तीन वर्ष र जिल्ला समन्वय समितिमा डेढ वर्ष काम गरेका सर्लाही बरहथवाका स्थायी बासिन्दा रामुराज कडरियाको अहिले पनि महोत्तरीतिरको औधी मोह हटेको छैन ।

उनले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा निवर्तमान मेयर रामशंकर मिश्र (हाल लोसपा) लाई मतदान गर्नुपर्छ भनेर काठमाडौंबाट व्यक्ति–व्यक्तिलाई फोन घुमाए । मेयरसँग सेटिङमा पारङ्गत कर्मचारीका रूपमा नाम कमाएका कडरिया वैशाख ३० को स्थानीय तह निर्वाचनपछि मतगणनास्थल जिविस भवनमा देखा परेको भनी निकै हुटिङ र चर्का नाराबाजी नै भयो ।

मतगणनामा बदमासी गर्न जलेश्वर आइपुगेको आशंकामा जिविस भवनमा सबै दलका नेता–कार्यकर्ताले उनको तीब्र खोजी गरे तर फेला परेनन् । कतिले त उनी पछाडिको गेटबाट भागेसम्म भन्न थाले ।

त्यहाँ रहँदा मेयरलाई मुठ्ठीमा लिएर हरेक प्रजिअ र एसपीको नजिक भइहाल्थे । त्यही कारण उनले त्यहाँ स्वार्थी कम्पनी चलाएर तीन वर्षसम्म राइँदाइँ गरे । पुस र माघको कठ्याङ्ग्रिँदो जाडोमा कम्बल किन्दा होस् वा कोभिड १९ ताका व्यवस्थापन गरिएको राहत सामग्रीदेखि स्यानिटरी प्याड, विद्यार्थीलाई दिने छात्रवृत्ति, प्रधानमन्त्री रोजगार कार्यक्रमदेखि बृद्धाश्रम निर्माणका नाममा समेत चरम घोटाला गरेको स्थानीय राजनीतिक दलदेखि सर्वसाधारणसम्मले उनीमाथि आरोप लगाएका छन्  ।

मेयरसँग मिलेर गोलमाल गरेको र यी सबै गतिविधिमा उनको प्रत्यक्ष संलग्नता रहेको भनी विपक्षीले प्रमाणै जुटाइरहेका थिए । यसैबीच कडरिया सिंहदरबार छिरे । अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जनशक्ति तथा योजना शाखामा हाकिम छन् । जलेश्वर छाडेर सिंहदरबार छिरे पनि अख्तियारलगायत निकायमा भ्रष्टाचार मुद्दा दायर गर्ने नवनिर्वाचित मेयर सुरेश साह सोनारले जनआस्थालाई बताए । यस विषयमा कडरियासँग जिज्ञासा राख्दा आफू सो दिन जलेश्वर नपुगेको, काठमाडौंस्थित वडा नम्बर २५ को निर्वाचनमा खटिएको प्रतिक्रिया दिए । ‘निवर्तमान मेयरसँग लामो समय काम गरेका कारण नजिकका साथीहरूलाई उनलाई सघाउन आग्रह गरेको,’ भने स्वीकारे ।

टिप्पणीहरू