कर्मचारीको मुद्दा आज पनि ‘हेर्न नमिल्ने’

कर्मचारीको मुद्दा आज पनि ‘हेर्न नमिल्ने’

कर्मचारी समायोजनसम्बन्धी आजका लागि पेसीमा चढेको मुद्दा हेर्न नमिल्ने भन्दै फेरि सारिएको छ । साता दिनअघि अघिल्लो मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त मुद्दालाई बृहत् पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।

सोही आदेशअनुसार आजका लागि न्यायाधीशहरु अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा र नहकुल सुवेदीको बृहत् पूर्ण इजलासमा पेसी चढेको भए पनि सर्वाेच्चले हेर्न नमिल्ने भन्दै पुनः पेसी सारेको हो ।

झण्डै तीन वर्षदेखि सर्वाेच्च अदालतको इजलासमै अल्झिरहेको यो मुद्दा यसअघि तीन सदस्यीय न्यायधीशहरु डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासले गरेको फैसलालाई ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले असहमति जनाएको हो । सोही इजलासले मुद्दालाई पाँच सदस्यीय बृहत पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो ।न्यायधीशद्धय खतिवडा र श्रेष्ठको संयुक्त इजलासले यसअघि तीन सदस्यीय पूर्ण इजलासले गरेको निर्णयको व्याख्यामध्ये पाँच वटा मुख्य विषयमा असहमति जनाउँदै मुद्दालाई पाँच सदस्यीय बृहत पूर्ण इजलासमा लैजान सिफारिस गरेको हो ।

सर्वोच्च अदालतले १२ माघ २०७८ मा कर्मचारी समायोजन सम्बन्धी विवादको एकमुष्ट सम्बोधन गर्दै समायोजनलाई सही ठहर्याएको थियो । यसअघिका न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासको रायमा फरक मत जनाउँदै संयुक्त इजलासका न्यायाधीशहरु खतिवडा र श्रेष्ठको इजलासले मुद्दालाई पाँच सदस्यीय बृहत पूर्ण इजलासमा पठाउन सिफारिस गरेको हो ।

संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुले दायर गरेको ९९ थान निवेदनलाई एकै ठाउँमा राखेर सुनुवाई गर्दै न्यायाधीशद्वय खतिवडा र श्रेष्ठको इजलासले मुद्दा सुनुवाइका लागि पाँच जना न्यायाधीश वा सोभन्दा धेरैको बृहत् पूर्ण इजलासमा पठाउने आदेश दिएअनुसार आजका लागि बृहत पूर्ण इजलासमा मुद्दाको पेशी चढेर पनि हेर्न नमिल्ने भन्दै फेरि पेसी धकेलिएको छ ।

टिप्पणीहरू