एमाले सांसद भन्छन्, ‘बालेनको लौरो टाउकोमा बजारियो’
प्रमुख प्रतिपक्षी एमाले सांसद नारायणप्रसाद खतिवडाले फोहोर व्यवस्थापनका नाममा काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले नुवाकोटका जनतामाथि दमन गरेको आरोप लगाएका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नुवाकोटेमाथि अन्याय भएको बताए ।
‘यही जेठ महिनाको २४ र २५ गते नुवाकोटको ककनी र धादिङको धुनिवेशीको बीचमा बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनतामाथि प्रहरी दमन भएको छ,’ संसदमा उनले भने, ‘स्थानीय चुनावमा चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ ।’
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्रले हालै सम्पन्न स्थानीय तह चुनावमा लौरो चिन्हमा चुनाव लडेका थिए । कांग्रेस र एमालेका बलिया प्रतिस्पर्धीलाई पन्छाएर महानगरको नेतृत्वमा पुगेका उनले फोहोर व्यवस्थापनलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।
तर, नुवाकोटको ककनी गाउँपालिकाको सिस्डोलका स्थानीयले विभिन्न माग राख्दै लामो समयदेखि फोहोर फाल्न अवरोध गर्दै आएका छन् । जसका कारण फोहोर व्यवस्थापनमा चुनौती बढिरहेका बेला काठमाडौँ महानगरले सुरक्षाकर्मी परिचालन गरेर मंगलबारदेखि जबर्जस्ती फोहोर फ्याँक्न थालेकोमा बुधबार झडप भएको थियो ।
यस घटनालाई सांसद खतिवडाले फोहोर व्यवस्थापनको नाममा नुवाकोटका जनतामाथि लौरो बजारिएको उनले बताएका हुन् । ‘फोहोर व्यस्थापनको नाममा १७ वर्ष अगाडिदेखि नुवकोटमा जुन वेथिती भएको छ त्यसको व्यस्थापन गरेर, स्थानीय जनताको जायज माग सुनेर त्यो पुरा गरेर फोहोर व्यवस्थापन गर्ने व्यवस्था होस्,’ उनले भने ।
टिप्पणीहरू