बालुवाटार जग्गा काण्डका अभियुक्त शोभाकान्तको मुद्दा ‘हेर्न नभ्याइने’ मा

बालुवाटार जग्गा काण्डका अभियुक्त शोभाकान्तको मुद्दा ‘हेर्न नभ्याइने’ मा

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गराएर हडपेको अभियोगमा थुनामा रहेका आरोपी शोभकान्त ढकालको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ ।

ढकालको मुद्दामाथि सुनुवाइका लागि आज सर्वोच्च अदालतको पूर्ण इजलासमा पेसी तोकिएको थियो । न्यायाधीशहरू सपना मल्ल प्रधान, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको पूर्ण इजलासमा पेसी चढेको मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।

यसअघि २९ वैशाखमा न्यायाधीशहरू आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लको इजलासमा पेसी तोकिएको थियो । तर, त्यसबेला मुद्दालाई ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको थियो ।

त्यसअघि वैशाख २४ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडा र भट्टराईको संयुक्त इजलासले रायबाझी हुने आदेश दिएको थियो । सोही कारण मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो ।

थुनामा रहेका ढकाल ललिता निवासको ११३ रोपनी जग्गा व्यक्तिको नाममा पारेको प्रकरणमा मुछिएका मुख्य आरोपी हुन् । उनी र अर्का आरोपी रामकुमार सुवेदीले मुख्य विचौलियाको भूमिका निभाएको पनि अख्तियारले जनाएको छ । अख्तियारले दायर गरेको मुद्दामा ढकालले आफू, श्रीमती र छोरा र छोरीहरूको नाममा समेत बालुवाटारको जग्गा राखेको उल्लेख छ ।

यो प्रकरणको मूल मुद्दा भने विशेष अदालतमा विचाराधीन रहेको छ । मुद्दामा ढकाल मात्र थुनामा रहेका छन् । विशेषले ललिता निवास प्रकरणमा ३ जनालाई मात्र थुनामा पठाएको थियो । तीमध्ये २ जना सर्वोच्च पुगेर धरौटीमा रिहा भएका थिए भने ढकालको हकमा राय बाझिएको थियो ।

विशेष अदालतको निर्णयविरुद्ध ढकाल पनि ११ चैत २०७७ मा निवेदन लिएर सर्वोच्च अदालत गएका थिए । २४ वैशाख २०७८ मा न्यायाधीशद्वय खतिवडा र भट्टराईको इजलासबाट राय बाझिएको आदेश भयो ।

इजलासमा राय बाझिएकै कारण ढकाल पूर्पक्षका लागि थुनामा छन् । इजलासबाट न्यायाधीश खतिवडाले तीन करोड धरौटी माग गर्ने आदेश गरेका थिए । अर्का न्यायाधीश भट्टराईले भने थुनामा पठाउने विशेषको आदेश सदर गर्ने निर्णय सुनाएका थिए । इजलासमा रहेका दुई न्यायाधीश बीचमा राय बाझिएकै कारण ढकालको निवेदनको सुनुवाइ पूर्ण इजलासमा पुगेको हो ।

विशेष अदालतले उनलाई पूर्पक्षका लागि थुनामा पठाउन २८ माघ २०७७ मा आदेश दिएको थियो ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ जनालाई विपक्षी बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । अख्तियारले ११० जनालाई आरोपितका रूपमा र ६५ जनालाई जग्गा फिर्ताका लागि प्रतिवादी बनाएको थियो ।

टिप्पणीहरू