अमेरिकी सेनाका इण्डो–प्यासिफिक कमाण्डर काठमाडौंमा

अमेरिकी सेनाका इण्डो–प्यासिफिक कमाण्डर काठमाडौंमा

अमेरिकी सेनाको हिन्द–प्रशान्त क्षेत्र हेर्ने कमाण्डर चार्ल्स ए. फ्लिन काठमाडौँ आइपुगेका छन् । अमेरिकी सेनाको जहाजमा सोझै काठमाडौं ओर्लने पूर्वनिर्धारित कार्यक्रम रद्द गरि उनी इन्डिगो एअरको जहाजबाट दिल्ली हुँदै सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हुन् ।

यसअघि उनी आज साँझ साढे ५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम थियो । तर, सवा १२ बजे नै नेपाल झरेका जनरल चाल्र्सलाई नेपाली सेनाको दोस्रो वरियताका लेफ्टिनेन्ट जनरल बालाराज कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् ।

तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका चार्ल्स बौद्धस्थित होटल हायातमा बस्नेछन् । नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति प्रभुराम शर्मालगायतसँग उच्चस्तरीय भेटघाट गर्ने छन् ।

चाल्र्सले भोलि दिउँसो १ बजे सिंहदरबार पुगेर प्रधानमन्त्री देउवासँग भेट्ने कार्यक्रम छ । पर्सि बिहान नेपाली सेनाको हेलिकप्टर चढेर उनी सगरमाथाको आधार शिविरमा पुग्नेछन् । जहाँ चिया पिउँदै प्रधानसेनापति शर्मासँग द्विपक्षीय चासो र हितका विषयमा कुराकानी हुनेछ । साँझ प्रधानमन्त्री देउवाले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुन चार्ल्स बालुवाटार पुग्नेछन् ।

नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी स्वीकार गरेसँगै अमेरिकी अधिकारीहरुको भ्रमण बाक्लिएका बेला जनरल चार्ल्स काठमाडौं झर्नुलाई थप चासोका साथ हेरिएको छ । उनको भ्रमणका दौरान अमेरिकी हतियार एम–१६ खरिदको प्रक्रिया अघि बढ्ने सम्भावना रहेको बताइएको छ । त्यसबाहेक अन्य सैनिक सहकार्यसम्बन्धी महत्वपूर्ण छलफल र सम्झौता हुनसक्ने सम्भावना छ ।

टिप्पणीहरू