बर्खा लाग्यो, सतर्क रहन आग्रह
नेपालमा मनसुन सुरु भइसकेको छ । बर्खा लागेसँगै बाढी/पहिरोको उच्च जोखिम सम्भावना हुन्छ ।
नेपालमा हरेक वर्ष बाढी/पहिरोबाट व्यापक जनधनको क्षति हुने गरेको छ । पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानको समस्या अत्यन्तै छ ।
मनसुन सिजन सुरु भएसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेको छ ।
खोला र नदी किनारमा जुनसुकै बेला बाढीको उच्च जोखिम रहने जनाउँदै प्राधिकरणले विपद् सावधानी अपनाउन भनेको छ । बाढी आइहालेमा सबैलाई खबर गर्न र नआत्तेर सुरक्षित स्थानमा जान प्राधिकरणको जोड छ ।
त्यस्तै, बालबालिका, महिला, अशक्त, अपाङ्ग, सुत्केरी तथा जेष्ठ नागरिकलाई प्राथमिकता दिएर सुरक्षित स्थानमा लैजानुपर्छ ।
त्यसपछि स्थानीय निकाय, सुरक्षाकर्मीलाई खबर गर्न भनिएको छ । थप सहयोग र उद्दारका लागि पहल गर्न प्राधिकरणले सुझाएको हो । बाढीपछि महामारी फैलिन नदिन व्यक्तिगत सरसफाइमा ध्यान दिन पनि आग्रह गरिएको छ ।
साथै, प्राधिकरणले बाढीको जोखिम कम गर्ने उपायहरु अपनाएपछि केही वर्षयता धेरै हदसम्म क्षति कम भएको जानकारी दिएको छ । स्थानीय तहको सहयोगमा ढल र नालीको निकास तथा मर्मत, नदी किनारमा तटबन्ध निर्माणलगायतका कामहरु भइसकेका छन् ।
खोलाको छेउछाउ विद्यालय तथा घरहरु निर्माण गर्ने काममा पनि रोक लगाइएको प्राधिकरणको भनाइ छ ।
स्थानीय तह विपद् तयारी कोष खडागरि औषधी, खानेपानी र आवश्यक सामग्रीहरुको जोहो गर्न पनि पहल गरिसकेको छ । प्राधिकरणले जोखिम न्यूनीकरणका लागि तालिमप्राप्त स्वयमसेवकहरुको समूह पनि बनाएको छ ।
टिप्पणीहरू