किन हरायो हरिवंशको चिना ? राष्ट्र बैंक बेखबर
प्रख्यात हास्यव्यङ्ग्य कलाकार हरिवंश आचार्य कुनै बेला नेपाल राष्ट्र बैंकका कर्मचारी थिए । छोटो समय बैंकको सेवा गरेका उनले पछि आफ्नो जीवनीबारे पुस्तक नै लेखे । पुस्तकको नाम हो ‘चिना हराएको मान्छे’ ।
अहिले केन्द्रीय बैंकमा ठिमाहा (हाइब्रिड) कर्मचारीको बिगबिगीले बैंकको इस्टिच्युशनल मेमोरी नै हराएको चर्चा छ । बहालरत र भूतपूर्व कर्मचारीको चिना अर्थात प्रशासनिक अभिलेख राख्ने जिम्मा बैंकको जनशक्ति व्यवस्थापन विभागको हो । तर, हालै मात्र एउटा कार्यक्रममा आमन्त्रित पूर्व कर्मचारीलाई केही वर्ष पहिले त्यही बैंकको जनशक्ति व्यवस्थापन विभागले धुईंपत्ताल खोज्दा फेला पार्न सकेन ।
नेपाल राष्ट्र बैंक जनकपुरमा सहायक निर्देशकको रुपमा कार्यरत वामदेव पौडेल कार्यालयको कामको सिलसिलामा काठमाडौं आएपछि एकाएक गायब भएका थिए । लामो समयसम्म कार्यालय नफर्केका उनको सोधखोज भयो । बैंकले सूचना नै जारी गर्यो । मुनासिब कारणसहित हाजिर हुन आग्रह हुँदा अटेर गरेपछि उनलाई सेवाबाट किन नहटाउने भनेर कडा सूचना जारी गरिएको जनशक्ति विभाग स्रोतले बताएको छ ।
उनी जनकपुरबाट काठमाडौं आए पनि त्यतिबेला रातारात अमेरिका पुगेका थिए । पछि परिवारसहित उतै बसे । बैंकले पटक पटक आग्रह गर्दा पनि हाजिर हुन आएनन् । बरु उल्टै अमेरिकाबाट फ्याक्स र इमेलमा राजीनामा ठेलिदिए । त्यसअघि उनी नगद सहायकमा कार्यरत थिए । त्रिभुवन विश्वविद्यालयको इतिहासमा हालसम्मकै सबैभन्दा थोरै नम्बर ल्याएर पौडेल अर्थशास्त्रमा ‘नेपाल टपर’ भएका हुन् । त्यही टपरको नाताले उनी अधिकृतमा प्रवेश गरेका थिए ।
प्राविधिक रुपमा पौडेल नेपाल टपर हुँदा ‘फेल’ भएका त्यतिबेलाका कतिपय विद्यार्थी अहिले राष्ट्र बैंकमै निर्देशक छन् । अमेरिकामा पीएचडी गरेपछि अहिले क्यानाडामा बसोबास गर्छन् । त्यहि मेसोमा नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक र निर्देशकलाई इमेल पठाएर उनले हालै नेपाल आउन लागेको र आफू विभागका हाकिमदेखि कारिन्दासम्मलाई पढाउन तयार रहेको बताइदिए ।
“उनी जनकपुरबाट काठमाडौं आए पनि त्यतिबेला रातारात अमेरिका पुगेका थिए । पछि परिवारसहित उतै बसे ।”
विभागले त्रय मासमा गर्दै आएको रिसर्च मिट कार्यक्रममा बोल्ने गतिलो मान्छे नपाइरहेको बेला अमेरिकामा पिएचडी, क्यानाडामा प्रोफेसर रहेको पूर्वकर्मचारीलाई पढाइदिन औपचारिक पत्र लेखियो । जेठ १८ गते आयोजना हुने कार्यक्रमको निम्ति जेठ १० गते पत्र पठाइयो ।
थिङ्किङ आउट अफ द बक्स: इमर्जिङ फ्रन्टियर्स इन द फिल्ड अफ इकोनोमिक्स शीर्षकमा उनले विभागका कार्यकारी निर्देशकदेखि अन्य दुई दर्जनबढी कर्मचारीलाई एक घण्टा पढाए । उक्त विभागका एक जना कर्मचारीले भने, ‘त्रिभुवन विश्वविद्यालयका प्रोफेसरहरुलाई बोलाउँदा बोलाउँदा थकित भएका हाम्रा हाकिमहरुलाई अमेरिकामा पढेको र क्यानाडामा बढेको मान्छे पाएपछि अरु केही चाहिएन । उनले कसरी बैंक छाडेका थिए भन्नेतर्फ कसैले ध्यान दिएको पाइएन ।’
यसअघि यस्तै कार्यक्रममा अहिले योजना आयोगको उपाध्यक्ष बनाइएका डा. विश्व पौडेललाई पनि बोलाइएको विभागका कर्मचारीहरु बताउँछन् । एउटा कार्यक्रमको निम्ति ३८ हजार रुपैयाँ बजेट राखिएकोमा गत १८ गतेको कार्यक्रममा ३७ हजार खर्च भएको छ । एक घण्टा पढाउने स्रोत व्यक्तिलाई सात हजार रुपैयाँ दिने गरिन्छ ।

पौडेलले बैंकको काममा जनकपुरबाट आउँदा औपचारिक जानकारी नगराई विदेश गएको, केन्द्रीय बैंकले उनको बारेमा सोधखोज गर्दा पत्र पठाउने ठेगाना फेला नपारेपछि बाध्य भएर सेवाबाट हटाउन सूचना जारी गरिएको त्यसबेलाका एक जना कार्यकारी निर्देशकले बताए । तर अहिले उनै पौडेललाई रातो कार्पेट बिच्छाएपछि बैैंक र बैंकका कर्मचारीको इन्स्टिच्युशनल मेमोरी हराएको अर्थ लगाइएको हो ।
पौडेलको विगतबारे जनशक्ति व्यवस्थापन विभागमा रहेको एचआरएमआईएस (ह्युमन रिसोर्सेज म्यानेजमेण्ट इन्फरमेशन सिस्टम) मा सबै लेखिएको हुँदाहुँदै पनि अनुसन्धान विभाग र जनशक्ति व्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलसी घिमिरेले ह्याकुलाले पेलेर कार्यक्रम गराएको उच्च स्रोतले जनआस्थालाई बतायो । घिमिरेसँग अनुसन्धान विभागका कार्यकारी निर्देशकले १६ गते फोनमा कुरा गरे पनि समय घर्किसकेको भन्दै कार्यक्रम गर्न हुने सल्लाह दिएको बताइन्छ ।
यता जनशक्ति व्यवस्थापन विभागका कर्मचारीले पौडेलको एचआरएमआईएसमा विगतको विवरण हेरे पनि घिमिरेको निर्देशनमा सबै चुप लाग्न बाध्य भएको यथार्थ खोलेका छन् । उता अनुसन्धान विभागका ‘विद्वान’ हरुले पनि संस्थाको इन्स्टिच्युशनल मेमोरी हराएकोमा कुनै पर्वाह नगरेको देखिएको छ ।
सोही सन्दर्भमा जनआस्थाले बैंकको कानुन महाशाखामा सम्पर्क गर्दा नैतिकतासँग जोडिएको विषयमा कानुन नचाहिने प्रतिक्रिया पाइएको छ । स्रोतले भन्यो, ‘आउनेले हेक्का राख्नुपर्थ्यो, बोलाउनेले पनिनहेक्का राख्नुपर्थ्यो, सोधनी गरेपछि जनशक्तिले पनि देखेको र लेखेको कुरो बताउनुपर्थ्यो । यहाँ सबै रासायनिक मल हालेको तरकारी जस्ता भएका छन् । देख्दा राम्रो, चिल्लो र आकर्षक भए पनि हिजोआजको तरकारीको गुदी बेकारको हुने गर्छ । कसैले कुनै जिम्मेवारी वहन गरेको पाइएन ।’
टिप्पणीहरू