त्रिभुवन विश्वविद्यालयको ताल्चा खोल्न नेविसंघ राजी
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयमा लगाइएको ताला खोल्ने भएको छ । विश्वविद्यालय पदाधिकारीहरुको कार्यकक्षमा पाँच महिनादेखि लगाइएको ताल्चा खोल्ने सहमति भएको हो ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै गदै त्रिवि केन्द्रीय कार्यालयको तालाबन्दीसहितको आन्दोलन कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।
‘त्रिवि भित्रको भ्रष्टाचार, बेथिति, आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृङ्खलाबद्ध प्रहारका बारेमा १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न नेपाल सरकारसँग जोडदार माग गर्दै तत्कालका लागि तालाबन्दीसहितको आन्दोलन कार्यक्रमहरु स्थगित गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
विभिन्न राजनीतिक, शैक्षिक र सामाजिक आन्दोलनमा हातेमालो गर्दै अघि बढेको विद्यार्थी संगठनले नै आफ्नो संघ बदनाम गर्न खोजेको नेविसंघको ठहर छ ।
साथै, सहयात्री संगठनले राजनीतिक चरित्र र शैक्षिक व्यवहार गुमाएको बिम्ब झल्किएको आरोपसमेत लगाइएको छ ।
त्रिविमा जारी प्राध्यापक तथा विद्यार्थी आन्दोलनका सन्दर्भमा अनेरास्ववियुको आधिकारिक लेटर हेडमा केन्द्रीय अध्यक्षका नामबाट जारी विज्ञप्तिमा ध्यानाकर्षण भएको संघले जनाएको छ ।
अस्ति एमाले निकट अनेरास्ववियुले त्रिविमा लगाएको ताला खोल्न आग्रह गरेको थियो । त्रिवि पदाधिकारीहरु भ्रष्टाचारमा संलग्न रहेको आरोपसहित नेविसंघले उनीहरुलाई बर्खास्तगीको माग गर्दै ताल्चा झुण्ड्याउँदै आएको थियो ।

टिप्पणीहरू