निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाएरै छाड्ने प्रधानमन्त्रीको अठोट

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाएरै छाड्ने प्रधानमन्त्रीको अठोट

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने माग राखेर काठमाडौं आइपुगेका सरोकारवालाहरुको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भेट गरेको छ ।

निजगढ सार्वजनिक सरोकार समितिको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले टाँगियाबस्तीको हाल प्रस्तावित स्थानभन्दा केही पूर्वको स्थानमा सारेर भए पनि सरकारले निजगढ विमानस्थल बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।

सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठका अनुसार प्रधानमन्त्रीले विमानस्थल बनाउने भनेर नै सरकारले चालु आर्थिक वर्षको बजेटमा रकम छुट्टयाएको जानकारी दिनुभएको छ ।

समितिले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई पनि ज्ञापनपत्र बुझाइसकेको छ ।

सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाउँदै खानेपानीमन्त्री उमाकान्त चौधरी नेतृत्वको अर्को टोलीले पनि हिजो प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको थियो । हिजोको भेटमा प्रधानमन्त्री देउवाले निजगढमा विमानस्थल बनाउन आगामी आर्थिक वर्षका लागि सरकारले बजेट विनियोजन गरेको जनाउँदै कानुनी अड्चन फुकाएर निर्माण प्रक्रिया अघि बढाउने बताउनु भएको थियो ।

निजगढको वन क्षेत्रसमेत समावेश गरी विमानस्थल निर्माणको योजना सरकारले बनाएको छ । तर सर्वाेच्च अदालतले विमानस्थल निर्माणसम्बन्धी सरकारका सबै निर्णय बदर गरिदिएको छ । यद्यपि परमादेशको संक्षिप्त वा पूर्ण पाठ नआइसकेकाले अन्यौल कायम छ ।

टिप्पणीहरू