दुई मन्त्रालयमाथिको छलफलमा सभामुखको रुलिङ

दुई मन्त्रालयमाथिको छलफलमा सभामुखको रुलिङ

प्रतिनिधिसभाको आजको बैठकमा शहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निम्ति छुट्याइएको बजेटमाथि छलफल शुरु भएको छ । आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि ती मन्त्रालयको निम्ति छुट्टयाइएको बजेटमा सांसदहरुले आफ्ना धारणा राख्न थालेका छन् ।

यी मन्त्रालयमाथिको छलफल अघिल्लो हप्ता नै हुनुपर्ने थियो । संसदमा विनियोेजन विधेयक २०७९ अन्तर्गत सहरी विकास र स्वास्थ्यमन्त्रालयको छलफलको पालो अघिल्लो साता नै थियो ।

सरकारमा सामेल नेकपा एकीकृत समाजवादीका मन्त्रीहरु रामकुमारी झाँक्री र बिरोध खतिवडा मन्त्री रहेका ती मन्त्रालयको पालो पछाडि धकेलिएको सम्बन्धमा गत बिहीबार २६ गते सभामुखले रुलिङ गर्नुभएको बताइन्छ ।

यहीबीच क्याबिनेटमा रहेका उक्त पार्टीका मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाएर नयाँ सांसदलाई जिम्मेवारी दिने निर्णयपछि संसदमा गर्न लागिएको छलफल नै प्रभावित हुनेगरी चलखेल गरिएको आरोप लागेको छ ।

बजेटमाथि उठ्ने मन्त्रालयगत प्रश्नको जवाफ स्वयम् मन्त्रीहरुले दिनुपर्ने भन्दै केही मन्त्री बालुवाटार अघिल्लो साता खुमलटार धाएका थिए । उनीहरुले केही दिन बढी भएपनि पदमा रहन गरेको उक्त प्रयास अन्ततः आजबाट टुट्ने देखिएको छ । आज ती दुवै मन्त्रालयको छलफल सुरु भएको हो ।

पार्टी सचिवालयको निर्णयबाट मन्त्री बनेका उनीहरुले नै अहिले सचिवालयले मन्त्री हटाउन नमिल्ने तर्क गरेको एकीकृत समाजवादीका नेताहरु बताउँछन् । आफ्नो दलको निर्णय कार्यान्वयन नगर्न र नगराउन उनीहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवालाई गुहारेको दृश्य पनि संसदीय राजनीतिमा रोचक देखिएको हो ।

यसबीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वतिर गएर समाजवादीका नेता तथा कार्यकर्तालाई एमाले प्रवेशको निम्ति आह्वान गर्नुभएको छ । पार्टीले मन्त्री फिर्ता बोलाउने बित्तिक्कै एमाले उपाध्यक्ष विष्णु पौडेलले पर्यटनमन्त्री प्रेम आलेलाई फोन गरेर एमाले प्रवेश गरी आफ्नो राजनीतिलाई अघि बढाउन आग्रह गर्नुभएको थियो ।

एकीकृत समाजवादीका जिम्मेवार नेतासमेत रहेका सहरी विकास र स्वास्थ्यमन्त्रीले अघिल्लो वर्ष एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तामा टिक्न गरेको अनेकौं बलको कडा शब्दमा प्रतिवाद गर्नुभएको थियो । तर, अहिले उहाँहरुले नै केही साता मन्त्रीको कुर्सीमा बस्न गर्नुभएको प्रयासलाई अरुले राम्रो मानेका छैनन् ।

टिप्पणीहरू