न्यायका लागि सडकमा आइन् कुमारी आमा
धनुषाकी निहारिका राजपुत अहिले काठ्माडौंको वसन्तपुर दरबार स्क्वायरमा आमरण अनशन बसिरहेकी छन् । २१ महिने दूधे बालक काखमा च्यापेर न्यायको माग गर्दै उनले भोको पेटमा धर्ना दिएकी हुन् । निहारिका कुमारी आमा हुन् । १७ वर्षको उमेरमा आफूमाथि बलात्कार भएको उनले जनाइन् । जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको उनको दावी छ ।
बलात्कार भएको झण्डै एक महिनापछि निहारिकाले आफू गर्भवती भएको थाहा पाइन् । परिवारले समेत गर्भपतन गर्न सुझाए । तर,उनले मानिनन् । आफू गर्भवती भएको थाहा पाएपछि निरन्तर न्यायको खोजीमा दौडधुप गरिरहेकी छन् । झण्डै साढे दुई वर्ष बितिसक्दा पनि उनले कतैबाट न्याय पाउन सकेकी छैनन् । आफूमाथि जबरजस्ती गर्ने शिवराजलाई कारबाही गर्नुपर्ने माग राख्दै थुप्रै ढोका ढग्ढगाइसकिन् ।
न्याय पाउनका लागि जहाँ गएपनि आफूलाई गलत देखाइएको उनको आरोप छ । प्रहरी प्रशासनले शुरुदेखि नै उनको मुद्दालाई कमजोर बनाएको छ । न्यायका लागि दश दुनियाँ धाउँदा पनि कसैले उनको पीडा सुन्न चाहेनन् । महिलालाई हकअधिकार दिलाउनका निम्ति खुलेको राष्ट्रिय महिला आयोगले समेत उनको पीडाप्रति बेवास्ता गर्यो । निहारिकालाई आफ्नै परिवारजनले घृणा गर्छन् । समाजले आफूलाई हेर्ने दृष्टिकोण उनले बिल्कुलै फरक पाँउछिन् ।
परिवार र समाजले असहयोग गरेपनि उनले हरेस खाएकी छैनन् । विगत साढे दुई वर्षदेखि काठ्माडौंमा कोठाबहालमा बसिरहेकी उनलाई थुप्रै समस्याले सताए । आफूमाथि भएको घटनाविरुद्ध आवाज उठाउँदा उनलाई मार्ने धम्की पनि नआएको भने होइन । तर, आफ्नो मनोबललाई बलियो पार्दै उनी अघि बढिरहेकी छन् । अहिले पनि उनका अपराधी स्वतन्त्र घुमिरहेका छन् । राजनीतिक शक्तिका कारण जिल्ला अदालत, धनुषाले अपराधीको पक्षमा फैसला सुनाइदियो ।
२०७८ माघ २३ गते अदालतले दोषीलाई सफाइ दियो । जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएको चार महिना बितिसक्दा पनि अदालतले पेशी तोकेको छैन । ‘अदालतले मेरो मुद्दालाई लम्बाइरहेको छ’, उनी भन्छिन् ‘म र बच्चा चाहिँ बाँच्नुपर्दैन ?’ कहिलेसम्म अदालतको फैसला पर्खिरहने ? मेरो आमरण अनशनको उध्देश्य न्याय पाउनु हो । यस्ता हजारौंले न्याय पाउनुपर्छ ।
उनले आफ्नो बच्चाको डीएनए टेस्ट गर्नुपर्ने माग राखेकी छिन् । मुद्दाको पेशी तोकेर फैसला गरिदिनुपर्ने उनी बताउँछिन् । बलात्कारीलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्नेमा उनको जोड छ । २१ महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरु राज्यले सुनिश्चित गरिदिनुपर्छ, उनले भनिन् । न्याय नपाएसम्म आमरण अनशन नतोड्ने उनको भनाइ छ ।
टिप्पणीहरू