आहा ! सबैले यस्तै गरे पो…
-आषिका लम्साल
मोरङका मनकारी युवाले दुई विद्यार्थीलाई स्नातकसम्म पढाउने जिम्मेवारी लिएका छन् । उनले सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न दुई जना विद्यार्थीलाई उच्चशिक्षा सम्म पढाइदिने जिम्मेवारी लिएका हुन् ।
मोरङको सुनवर्षी नगरपालिका ३ मा बसोवास गर्दै आएका २७ वर्षे युवा वीरेन्द्र साहले सोही नगरपालिकामा रहेको वीरेन्द्र सार्वजनिक माविमा प्राथमिक तहमा पढ्दै गरेका अति विपन्न एक जना दलित बालिका र एक जना बालकलाई उच्चशिक्षासम्म पढाउने जिम्मेवारी लिएका हुन् ।
विद्यार्थीका अभिभावक र विद्यालयको रोहवरमा साहले दुवै विद्यार्थीलाई पोशाक, स्टेशनरी र अन्य भैपरी आउने खर्च व्यहोर्ने गरि स्नातक तहसम्म पढाउने लिखित सम्झौता गरेर जिम्मेवारी लिएका छन् ।
उनले जिम्मा लिएका विद्यार्थीहरुमा कक्षा ३ मा अध्ययनरत छात्रा कविताकुमारी खत्वे र कक्षा २ का सन्तोष ठाकुर हुन् । उनीहरुको परिवारको अवस्था नाजुक भएकाले दुबैलाई स्नातक तहसम्म पढाउने अभिभावकत्व आफूले लिएको साहले बताए ।
मनकारी साहले शुक्रबार लिखित सम्झौता गरेपछि विद्यार्थीलाई पोशाक र आवश्यक स्टेशनरी पनि खरिद गरेर हस्तान्तरण गरेका छन् । ‘आफूले विद्यालयमा पढ्दा भोगेको जस्तै समस्या अरुले भोग्नु नपरोस् भनेर आर्थिक क्षमताले भ्याएसम्म त्यस्ता विपन्न परिवारका विद्यार्थीलाई स्नातक तहसम्म पढाउन सकेको सहयोग गर्नेछु,’ सञ्चारकर्मी साहले भने । मनकारी वीरेन्द्र सुनवर्षी नगरपालिकामा मध्यमस्तरको किराना पसल सञ्चालन गर्दै आएका एक जना व्यापारीका छोरा हुन् ।
आर्थिक अवस्था सबल भएका नेता, कर्मचारी, समाजसेवी, अधिकारकर्मी मात्र नभएर सञ्चारकर्मीहरुले समेत विपन्न परिवारका विद्यार्थीहरुलाई अध्ययनबाट वञ्चित हुन नदिन विभिन्न तरिकाले सहयोग गर्न सकिने उनी बताउँछन् ।
सानै उमेरमा कलाकारिता, पत्रकारितासँगै समाजसेवामा समेत सक्रिय २७ वर्षे साहले यसअघि धेरै दुःखीहरुको निम्ति खाद्यान्न र उपचार सेवामा सहयोग जुटाइसकेका छन् । राजेन्द्रप्रसाद र प्रमिलादेवी साहका जेठा छोरा वीरेन्द्रले गतै वैशाख २१ गते सोहीनगरपालिकाको ३ नम्बर वडा निवासी रत्न दर्नाल र कल्पनादेवी दर्नाल (परियार) की जेठी छोरी २५ वर्षीया सम्झना दर्नालसँग बाजा बजाएर धार्मिक परम्पराअनुसार भव्य रुपमा मागी विवाह गरेका थिए ।
टिप्पणीहरू