बालेनको कर्मचारी, गृहमन्त्रीको खास अधिकारी
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन आफूहरुले हाँकेको बताउँदै आएका धिरज जोशी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको कर्मचारी भएको खुलेको छ । बालेनद्वारा महानगरमा नियुक्त उनी हाल गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयमा पुगेका छन् ।
उनी महानगरको शहरी योजना आयोगमा सहायक विज्ञ थिए । आयोगको सचिवालय प्रमुख धनबहादुर बस्नेतले उनले राजीनामा दिएको केही समय बितेको बताए । जनआस्थासँग भने,‘उहाँले राजीनामा दिइसक्नुभयो । गृहमन्त्रीज्यूको स्वकीय हुनुभन्दा दुई–तीन दिनअगाडि नै राजीनामा दिएर जानुभएको हो ।’
जोशी तिनै व्यक्ति हुन्, जसले नेकपा (एमाले) बाट लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि लागेको बाल श्रमको आरोप राष्ट्रिय स्तरमै फैलाएका थिए । उनीमाथि ती सांसदसँग पैसा मागेको आरोप पनि लागेको थियो । जेनजी आन्दोलनमा कहीँकतै नदेखिएका उनी अहिले जेनजी नेताको रुपमा विभिन्न मिडियामा अन्तरवार्ता दिँदै हिँडिरहेको देखिन्छ ।
जेनजी आन्दोलनको केही दिनपछि विवाह गरेका उनले महानगरबाट एकै महिनामा ९७ हजार रुपैयाँ भत्ता लिएको खबर छ । स्रोत भन्छ,‘मेयरको सचिवालयबाट उनी सोझै गृहमन्त्रीको सचिवालयमा आइपुगेका छन् । मेयरकै सिफारिसमा उनी यहाँ आएकोमा दुई मत छैन । पहिले मेयरका प्रिय पात्र थिए,अहिले गृहमन्त्रीको एक्का बनेका छन् । जतिसुकै सुशासनको नारा दिएतापनि सबैले भिœयाउने चाहिँ आफ्नै मान्छे रहेछन् ।’
(जनआस्था साप्ताहिकको मंसिर २४ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू