मन्त्रीबाट राजीनामा दिनुअघि सञ्चारमन्त्री जगदीश खरेलले सचिव राधिका अर्याललाई हटाए । स्रोतका अनुसार खरेलले राज्यलाई कर नतिरेर दर्ता खारेजी प्रक्रियामा गइसकेको क्लासिक टेक नामक इन्टरनेटप्रदायक संस्थाको पक्षमा हुनेगरी निर्णय गर्न र दर्ता खारेजी प्रक्रिया रोक्न बारम्बार दबाब दिएका थिए । ‘तर, यसअघिकै मन्त्रीले सबै प्रक्रिया पूरा गरेर दर्ता खारेजीमा पठाइसकेको कम्पनीको पक्षमा उनी उभिन सकिनन् । फलस्वरूप चुनाव खर्च सङ्कलन गर्ने एउटा ठूलो योजना असफल भयो । त्यसैकारण सचिवमाथि प्रतिशोधपूर्ण व्यवहार देखाइएको हो ।
एक उच्च अधिकारीका अनुसार मन्त्रीले क्लासिक टेकबाट सोचेअनुसारको लाभ लिने वातावरण नबनेपछि अर्को विषयमा समेत सचिवलाई दबाब दिएका थिए । त्यो हो, नेपाल टेलिकमको बिलिङ ठेक्का तोड्ने र नयाँ कम्पनीलाई दिने विषय । ठेक्का विधि पुर्याएर उपयुक्त कम्पनीलाई दिएको कारण देखाउँदै सचिवले तोड्न मानिनन् । उनले नमानेपछि नयाँ ठेक्का पाउने चाजोपाँजो मिलाएका कम्पनीहरूबाट प्राप्त हुने लाभसमेत गुम्ने देखियो । त्यसैले उनलाई हटाएर त्यसको भोलिपल्ट नै ठेक्का तोड्ने निर्णय गराउँदै मन्त्रीले एउटा काम भने आफ्नो पक्षमा गरेर मन्त्रालयबाट बिदा भएका छन् ।
स्रोत भन्छ, ‘जेनजी आन्दोलनमा सक्रिय सहसचिव रमेश शिवाकोटीले सबै कामको चाँजोपाँजो मिलाएका हुन् । दोलखाका शिवाकोटी नै क्लासिक टेकका मालिक भएको र मन्त्री पनि दोलखाबासी नै भएको हुँदा स्वार्थको तालमेल निकै सहज बनिरहेको थियो । तर, सचिव कवाबमा हड्डी बनिदिँदा उनलाई मन्त्रालयबाटै हुत्याउनु पर्यो ।’ क्लासिक टेक लगभग खारेज अवस्थामा छ । त्यसलाई म्याद थप वा केही गर्न मिल्ने स्थिति नै छैन । यदि क्याबिनेटले नै निर्णय गरे कुरा बेग्लै तर मन्त्री वा सचिवको तहबाट अगाडि बढाउँदा भोलि अख्तियार आकर्षित हुन सक्छ । तथापि, उपयुक्त तरिका खोजी गर्ने क्रममा सचिव अर्यालले एउटा अध्ययन समिति गठन गरेर त्यसको रिपोर्टका आधारमा निर्णय गरौं भन्ने प्रस्ताव राखेकी थिइन् । तर, समितिले सकारात्मक प्रतिवेदन दिँदैन भन्ने जानकारी पाइसकेका खरेल जे जसरी हुन्छ एउटा निर्णय गराएर आफ्नो स्वार्थ पूर्ति गर्ने हतारोमा लागेपछि दरार उत्पन्न भएको थियो ।
त्यसो त खरेलले दुई महिनाअगाडि सचिवमा बढुवा भई गण्डकी पुगेका ललितपुरमा एलडिओ रहेको बेला तत्कालीन मन्त्री मात्रिका यादवले शौचालयमा थुनेका डुण्डुराज घिमिरेलाई ल्याउन खोजेका थिए । तर, कुरा नमिलेपछि महिला, बालबालिकाकी सचिव लक्ष्मी बस्नेतलाई सञ्चार लगिएको छ ।
- शेखर बस्नेत