८८ वर्षमा काठमाडौंबाट चुनाव लड्दै

८८ वर्षमा काठमाडौंबाट चुनाव लड्दै

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते चुनाव गराउँदैछ । निर्वाचन आउन डेढ महिना बाँकी छ । चुनाव नजिकिएसँगै उम्मेदवारी घोषणा गर्नेहरूको लर्को लागेको छ । पुरानाहरूले धमाधम चुनाव नलड्ने घोषणा गरिरहँदा नयाँ अनुहारहरू अगाडि आएका छन् ।

यसपटकको निर्वाचनपछि संसद्मा प्रायः नयाँ अनुहार देखिने सम्भावना बढेको छ । ८८ वर्षका एक वृद्ध पनि यही मेसोमा लाग्दैछन् । ‘गर्न खोज्नेलाई उमेरले छेक्दैन’ भनेझैं मैदानमा होमिन लागेका उनी हुन्– पूर्वप्रशासक मदनदेव आचार्य । लामो समय परराष्ट्र र अर्थमा बिताएका उनी जीवनको बाँकी समय देश सेवामा बिताउने हो भन्छन् । 

वि.सं.१९९५ मा जन्मिएका आचार्यले काठमाडौं क्षेत्र नम्बर–४ बाट स्वतन्त्र उम्मेदवारी दिँदै छन् । वि.सं.२०१७ सालमा परराष्ट्र सेवाबाट सरकारी जागिर थालेका उनी आफूमा देश बनेको हेर्ने रहर भएको बताउँछन् । ‘जेनजीले जुन माग अहिले उठाइरहेका छन्, त्यो मैले पहिल्यै उठाएको । तर, एक्लो भएकाले कसैले सुनेन । शासन सुधार्न र भ्रष्टाचार रोक्न मैले उम्मेदवारी दिन लागेको हुँ’, उनले भने । त्यसैगरी, आफूलाई भ्रष्टाचारको मुख्य केन्द्रहरूबारे राम्रो जानकारी भएको आचार्यको जिकिर छ ।

भन्छन्, ‘म लामो समय सरकारी सेवामा बसेको मान्छे, कहाँ, कसरी भ्रष्टाचार हुन्छ ? राम्रो जानकारी छ । ती क्षेत्रमा सुधार गर्ने मेरो लक्ष्य हो ।’ आचार्य पुस्तक लेखक पनि हुन् । उनले प्रशासन, राजदरबार, कोइराला परिवार, इन्दिरा गान्धी, अमेरिका, व्यापार, महारानी एलिजाबेथ, जापानी राजकुमार अकिहितो, सिनेमा, अदालत, राजदूतावास, परराष्ट्रलगायत क्षेत्रलाई समेटेर ‘खिचडी’ नामक पुस्तक लेखेका छन् ।
 

टिप्पणीहरू