बालेनको तस्बिर तराईमा कति बिक्ला ?

बालेनको तस्बिर तराईमा कति बिक्ला ?

अदालतमा अपराधिक रेकर्ड नरहेका र मुद्दा लागेर सार्वजनिक छवि नबिग्रिएका बालेन साहलाई देखाएर चुनाव लड्ने रवि रणनीति मधेसको हकमा भने खासै प्रभावकारी नहुने देखिएको छ । मधेसको स्थिति नियालिरहेका एक जानकारका अनुसार त्यहाँ रवि र  बालेनको खासै प्रभाव छैन । यसर्थ रविले मधेसी मूलका बालेनलाई अघि सारेर त्यतातिर आफ्नो प्रभाव बढाउने प्रयत्न गरेका हुन् । चितवन र रूपन्देहीबाहेक तराईका अन्य भूभागमा घण्टीको बलियो संगठन निर्माण हुन नसकेका कारण निर्णायक नतिजा प्राप्त हुन सक्ने आधार नभएको विश्लेषकहरूको भनाइ छ । 

स्मरणीय छ, तराई मधेस कूल निर्वाचन क्षेत्रमध्ये आधाभन्दा बढी संख्या रहेको भूभाग हो । त्यहाँ पूर्ववत जुन जुन दल वा पार्टीलाई जनताले समर्थन गर्दै आएका थिए त्यसमा खासै परिवर्तन नभएको समाचार स्रोतको दावी छ । तर, पहाडी भेगको सहरी क्षेत्रका मजदुर र श्रमजीवी समुदायमा भने उनीहरुप्रतिको आकर्षण राम्रै रहेको देखिन्छ ।’ उदाहरण दिँदै ती विश्लेषकले भने, ‘सार्वजनिक यातायात र विशेषगरी ट्रकको पछि बालेनको फोटो देखिनु त्यसको बलियो संकेत हो । उनीहरूलाई कुनै तस्बिर मनपर्‍यो भने जस्तो किः चे ग्वेभारा वा बब मार्ली तिनको परिचय थाहा नपाए पनि टाँस्ने गर्छन् ।’ 

ग्रामीण क्षेत्रमा नयाँ पार्टीको प्रभाव यहाँको आन्तरिक कारणले भन्दा पनि खाडी मुलुक, कोरिया र मलेसिया गएका कामदारहरूका कारण बढ्न सक्ने सम्भावनालाई भने अध्येताहरुले नकारेका छैनन् । नेपालको चुनावमा के कस्ता तत्वले प्रभाव पार्छन् भन्नेवारे अनुसन्धान गरिरहेका एक शोधकर्ताले बताएअनुसार शहरी क्षेत्रमा युरोप, अमेरिका अष्ट्रेलियाजस्ता मुलुकमा रहेकाहरूको प्रभाव चर्को देखिन्छ । त्यसैगरी ग्रामीण भेगमा भने खाडी मुलुक र मलेसियामा रहेका कामदारहरूले घर परिवारका सदस्यको मताधिकार निर्धारण गरेका छन् ।

(जनआस्था साप्ताहिकको पुस १६ गते बुधबारको अंकमा प्रकाशित)  

 

टिप्पणीहरू