दार्जिलिङ्ग छेउमा एमाले र एकीकृत समाजवादीको मेलजोल

दार्जिलिङ्ग छेउमा एमाले र एकीकृत समाजवादीको मेलजोल

इलाम जिल्ला समन्वय समितिको आगामी निर्वाचनमा पाँचदलीय गठबन्धनभन्दा नितान्त पृथक गठबन्धन बनेको छ । असार ४ गते हुने निर्वाचनको निम्ति नेकपा एमाले,नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच तीन दलीय गठबन्धन भएको हो । स्थानीय निर्वाचनमा एकीकृत समाजवादी र जसपासँगै निर्वाचन लडेको नेपाली काँग्रेसको भने एक्लै भिड्ने तयारी छ ।

एमालेले प्रमुखसहित पाँच जना सदस्य र एकीकृत समाजवादीले उपप्रमुखसहित दुई जना सदस्य पाउने गरी गठबन्धन गरेको हो । जसपाले एमालेको बहुमत रहेका पालिकामा दुई जना कार्यपालिका सदस्य निर्वाचित गराएपछि एमाले र एकीकृत समाजवादीसँग गठबन्धन गरेको हो ।

तीन दलीय गठबन्धनको तर्फबाट प्रमुखमा जयप्रकाश राई एमाले, उपप्रमुखमा एकीकृत समाजवादीकी चित्रकला बराइली,सदस्यहरुमा शेबहादुर राई,रामबहादुर लिम्बू,सीता कार्की क्षेत्री, मीनाकुमारी राई एमालेबाट तथा तृष्णा सुनुवार र सपना देवी राई शेर्पाले एकीकृत समाजवादीबाट सदस्यमा आइतबार मनोनयन दर्ता गराएका छन् ।

नेपाली काँग्रेसको तर्फबाट पत्रकार तथा कवि विमल वैद्य प्रमुख,कमला बराल उप्रमुख र सदस्यहरुमा ख्यामकुमारी घले, राजकुमार लिम्बू, विष्णुप्रसाद भट्टराई, पार्वती सेन्चुरी र लीला राईले मनोनयन दर्ता गराएका छन् । दुई जना सदस्यमा भने काँग्रेसले मनोनयन दर्ता गराएको छैन ।

इलामका १० पालिकामध्ये प्रमुख र उपप्रमुखमा १० एमाले, सात नेपाली काँग्रेस, दुई एकीकृत समाजवादी र एक जसपाले जितेको छ ।

टिप्पणीहरू