वर्षको सुरुमै प्रकोपको पीडा

वर्षको सुरुमै प्रकोपको पीडा

पछिल्लो दुई महिनाको सरकारी तथ्याङ्कअनुसार प्राकृतिक विपद्मा परेर ज्यान गुमाउनेको संख्या उच्च छ । मुलुकभर बाढी, पहिरो, चट्याङ्, हावाहुरी, सर्पदंश र जनावरको आक्रमणलगायतका घटनामा परी सयौं घाइते भएका छन् भने दर्जनाैँको ज्यान गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा सात सय दुई वटा विपद्का घटना भएका छन् । विपद्मा परी एक बेपत्ता र एक सय ६७ जना घाइते भएका छन् । आठ सय ९९ परिवार बाढीपहिरोबाट प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

पहिरोमा पुरिएर ६ जनाले ज्यान गुमाएका छन् । चट्याङ् लागेर २६, सर्पको टोकाइबाट तीन, आगलागीबाट १४, हावाहुरीबाट आठ र जनावरको आक्रमणबाट आठ जनाको निधन भएको छ ।

प्राधिकरणले यसबाट भएको क्षतिको विवरणसमेत सार्वजनिक गरेको छ । सरकारले वैशाख र जेठमा मात्रै ५१ करोड २८ लाख ५३ हजार नौ सय ६० रुपैयाँ बराबर आर्थिक क्षति व्यहोरेको विवरणमा उल्लेख छ ।

विवरणअनुसार सबैभन्दा धेरै धनजनको क्षति आगलागीबाट भएको छ । आगलागीबाट दुई महिनाको अवधिमा ४६ करोड ७२ लाख ८४ हजार एक सय ६० रुपैयाँको आर्थिक क्षति भएको छ । यता, पहिरोबाट ४६ लाख १० हजार, बाढीबाट चार लाख ३५ हजार, भारी वर्षाबाट ११ लाख ४५ हजार ५ सय रुपैयाँ क्षति भएको जनाइएको छ ।

चट्याङ्का कारण ११ लाख ३३ हजार, वनजंगल डढेलोबाट एक करोड २३ लाख ८५ हजार रुपैयाँ, हावाहुरीका कारण दुई करोड ५० लाख ७९ हजार आठ सय र जनावरको आक्रमणबाट सात लाख ८० हजार पाँच सय रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको प्राधिकरणको भनाइ छ ।

टिप्पणीहरू