खानेपानी प्रशोधन केन्द्रमा ज्यान गुमाएकाको परिवारसँग सहमति

खानेपानी प्रशोधन केन्द्रमा ज्यान गुमाएकाको परिवारसँग सहमति

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, महांकालस्थित मेलम्ची खानेपानी प्रशोधन केन्द्रमा ज्यान गुमाएका सोनाम तामाङका परिवार र सिनो हाइड्रो ठेकेदार कम्पनीबीच सहमति भएको छ । ठेकेदार कम्पनी र मृतकका परिवारबीच बीमावापत १७ लाख रुपैयाँ क्षतिपूर्ति दिने विषयमा सहमति जुटेको हो ।

त्यस्तै, नगरपालिकाले उनकी छोरी सनिसा तामाङलाई १२ कक्षासम्म पढ्न १० लाख आर्थिक सहयोग गर्ने भएको छ । यता, श्रीमतीलाई मेलम्ची खानेपानीमा जागिर लगाइदिने प्रतिबद्धता जनाइएको छ । सिनो हाइड्रो कम्पनीमा कामदारको रुपमा कार्यरत तामाङको विद्युत सर्टका कारण अस्ति निधन भएको हो ।

मृतकका आफन्तले २५ लाख रुपैयाँ बीमा रकम दिनुपर्ने माग गर्दै आएका थिए । बीमा कम्पनीले भने आठ लाख रुपैयाँभन्दा बढी रकम नदिने ढिपी कसेपछि हिजो गरिएको छलफल बिना निश्कर्ष टुंगिएको थियो । चार दर्जनको संख्यामा उपस्थित भएका मृतकका आफन्तले पीडित पक्षको माग पूरा नभए तोडफोडमा उत्रिने चेतावनी दिएका थिए ।

त्यसपछि वडा नम्बर १ का वडाध्यक्ष द्वारिका श्रेष्ठले पीडित पक्षका एक दर्जन आफन्तलाई बोलाएर आज बिहान छलफल राखेका हुन् । छलफल निष्कर्षविहीन बनेपछि मेयर दिपक रिसालले पुनः वार्ता गरेपछि निश्कर्ष निकालिएको बताइएको छ । एकछिन अघि मात्रै सबैले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

टिप्पणीहरू