तेलको भाउ फेरी बढ्ने, निगमले निकाल्यो यस्तो हिसाब

तेलको भाउ फेरी बढ्ने, निगमले निकाल्यो यस्तो हिसाब

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा फेरी मूल्य बढाउने संकेत दिएको छ । भारतबाट तेलको भाउ बढेर आएको जनाउँदै निगमले आउँदो १५ दिन थप घाटा व्यहोर्नुपर्ने समेत बताएको छ ।

इण्डियन आयल कर्पोरेसन (आईओसी) ले भाउ बढाएर नयाँ मूल्य पठाएकाले १५ दिनमा चार अर्ब ८१ करोड नोक्सान हुने हिसाब निगमले निकालेको हो । यसअघि पनि निगम घाटामा गएको भन्दै यस्तै हिसाब निकालेर भाउ बढाउने गरिएको थियो ।

निगमका अनुसार रुस–युक्रेन युद्ध जारी रहेकै बेला पछिल्लो १५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्य बढेकाले भारतले पनि भाउ बढाएर पठाएको हो । आईओसीले आज पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलमा ६ रुपैयाँ ५२ पैसा, डिजेलमा १९ रुपैयाँ ३ पैसा र हवाइ इन्धनमा १९ रुपैयाँ ९१ रुपैयाँले वृद्दि भएको छ ।

मट्टितेल र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ३१ रुपैयाँ २८ पैसा, डिजेलमा ३७ रुपैयँ १६ पैसा, हवाई इन्धन (आन्तरिक) मा दुई रुपैयाँ ७० पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ७५१ रुपैयाँ १४ पैसा घाटा हुने निगमको दाबी छ । यसले आगामी १५ दिनमा मात्रै निगमलाई पेट्रोलमा ९५ करोड, डिजेलमा दुई अर्ब ९१ करोड, हवाई इन्धनमा ६६ लाख र एलपी ग्यासमा एक अर्ब १४ करोड रुपैयाँ घाटा हुने हिसाब निगमले सार्वजनिक गरेको छ ।

टिप्पणीहरू