संसदीय समिति ‘हापेर’ प्रधानमन्त्री बालुवाटारमा, प्रचण्ड, माधव र उपेन्द्रलाई पनि बोलाइयो
विवादास्पद अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) का बारेमा छलफलमा गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाउनुभएको छ ।
बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु बालुवाटार पुग्नुभएको छ । बैठकमा एसपीपीका बारेमा छलफल गर्ने जनाउ दिएपछि गठबन्धनका शीर्ष नेताहरू बालुवाटार पुग्नुभएको हो ।
आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री देउवा नआएको भन्दै विपक्षी दलका सांसदहरूले चर्को आलोचना गरेका थिए । सत्तारुढ दलकै नेताहरुले समेत प्रधानमन्त्री देउवाले अमेरिका भ्रमण र एसपीपीबारे जवाफ दिनुपर्ने माग गर्दै आएको सन्दर्भमा समितिले आज जवाफ दिन बोलाएको थियो ।
संसदीय समितिमा जवाफ दिन नजानु भएका प्रधानमन्त्री देउवाले एसपीपी विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बोलाउनु भएको हो ।
यता, समितिको बैठकमा भाग लिन पुग्नुभएका एकीकृत समाजवादीका अध्यक्ष नेपाल बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक छ भन्दै भर्खरै बाहिरिनुभएको छ । समितिको बैठक भने जारी छ ।
टिप्पणीहरू