उपराष्ट्रपति निवासपछि नयाँ बजारमा भेला

उपराष्ट्रपति निवासपछि नयाँ बजारमा भेला

सत्तारुढ नेकपा माओवादी केन्द्र र जनता समाजवादीबीच आन्तरिक छलफलको निम्ति भन्दै हिजो दिउँसो नयाँ बजारमा दोस्रो तहका नेताहरुबीच भेट भएको छ । खुसिबुस्थित नेपा ब्याङ्क्वेटमा दुई पार्टीका झण्डै डेढ दर्जन नेताहरु भेला भएको बताइन्छ ।

छलफलमा नेकपा माओवादी केन्द्रको तर्फबाट नेता वर्षमान पुन, ओनसरी घर्ती,राष्ट्रिय सभा सदस्य सुरेश आलेमगर र जनता समाजवादी पार्टीको तर्फबाट सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, नेता पासाङ शेर्पालगायत १८-२० जनाको सहभागिता थियो ।

अस्ति बिहान लैनचौरस्थित उपराष्ट्रपतिको निवासमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच ‘महत्वपूर्ण’ भेटघाट भएको भनिएको थियो ।

सोही भेटघाटलाई लक्षित गर्दै अस्ति अध्यक्ष दाहालले पूर्व माओवादीहरुबीच पुनः एकताको प्रक्रिया अघि बढ्न लागेको भनी खुशी व्यक्त गर्नुभएको थियो ।

यसबीच जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र डा. भट्टराईबीच असहमतिको दूरी बढ्दै गएको सन्दर्भमा भएका भेटघाटलाई पार्टी विभाजनसँग जोडेर हेर्न थालिएको छ ।

टिप्पणीहरू