अरुलाई आकाशमै फनफनी,भाइको मनमा आगो दन्दनी
नागरिक उड्डयन प्राधिकरण नेपालका महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचार काण्डमा मुछिएपछि अनुसन्धानको क्रममा उनीलगायत आधा दर्जन कर्मचारी जेल र हिरासतमा छन् । पोखरा विमानस्थल,भक्तपुरको नलिञ्चोकस्थित हेलिपोर्ट,गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न मर्मत कार्यमा अनियमितता भएको आरोपमा छुट्टाछुट्टै अनुसन्धान भइरहेको छ ।
यीबाहेक प्राधिकरण उच्च नेतृत्वको आडमा वीरेन्द्रबहादुर बस्नेतको बुद्ध एअरलाई अन्य हवाई कम्पनीको विमानलाईभन्दा बढी प्राथमिकता दिएको आरोप पनि लाग्ने गरेको छ । बुद्धसँगको सेटिङमा अनेक बहाना बनाएर विशेषगरी काठमाडौं विमानस्थलबाट उड्ने र अवतरण गर्ने उसका विमानलाई प्राथमिकता दिइएका उदाहरण सयौं रहेको अन्य कम्पनीका जिएमहरुले बताएका छन् ।
‘प्रायः बुद्धको विमान नजिकै आएपछि सबैले आकाशे मार्ग छाड्नुपर्ने’ शैली पछिल्ला केही वर्षमा अधिक देखिएको स्रोतको दावी छ । अहिले राजनीतिमा होमिएका उनै बस्नेतमाथि साख्खे भाइको परिवार कानुनबमोजिम तोकिएको अंश नदिएको जिकीर गर्दै सर्वोच्च पुगेको छ । वीरेन्द्रले भने बुद्धको उडानमा राखिने पत्रिका ‘यात्रा’ मा ‘समकालीन अरु जम्मै विदेश गएको तर आफू यतै बसेको कथा छापेका छन् ।
प्रमुख राजनीतिक दलका शीर्ष नेता,तिनका नातेदार,निकटस्थ नेता तथा कार्यकर्ताका आफन्तलाई काठमाडौं विमानस्थलको ठेक्का दिएर साखुल्ले बनेका अधिकारीको नियति सुनिल पौडेल र विकल पौडेलकै जस्तो हुने देखिन्छ । आफ्नो स्वार्थ अनुकूलको काम फत्ते गराउन एकजना भूतपूर्व प्रधानन्यायाधीशलाई हेलिकोप्टरमा लुक्ला पुर्याएर ल्याएपछि अनेक आशंका उठेको थियो । सर्वोच्चका एकजना भूतपूर्व न्यायाधीशका भतिजोसँग सेटिङमा गरिएको जग्गा कारोबारले पनि अधिकारीलाई उपल्लो तहमा पहुँच पुर्याउन भर्याङको काम गरेको बताइन्छ ।
एकातिर बुद्धसँग अनुचित सामिप्यता गाँस्नेको ‘फाइनान्सियल स्टाबिलिटी’ मा सहयोग पुगेको र अर्कोतिर बुद्धलाई आकाशमा अनावश्यक फन्को लगाउन नपर्ने,भुईँमा धेरैबेर अडिन नपर्ने भएपछि वार्षिक करोडौं खर्च बचेको देखिन्छ । प्रतिस्पर्धी विमान कम्पनीको तुलनामा यात्रुबीच आफ्नो विश्वसनीयता बढेपछि इन्धन खर्च बचतबाट प्राप्त रकमको सानो अंशले सबै काम फत्ते गराउन बुद्ध अग्रसर हुनुुलाई व्यवसायिक रणनीतिमा सकारात्मक भन्ने गरिन्छ ।
टिप्पणीहरू