तलब नपाएपछि अर्थमन्त्रीको जिल्लामा पत्रकार आन्दोलित
अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला रुकुम पश्चिममा पत्रकारहरुले आन्दोलन थालेका छन् । वर्ष दिनसम्म रेडियोमा काम गरेका पत्रकारहरुले पारिश्रमिक नपाएपछि आन्दोलन सुरु गरेका हुन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जनचेतनाका लागि ठूलीभेरी सञ्चार केन्द्रले सञ्चालन गरेको रेडियो नयाँ नेपाल ९८.२ मेगाहर्जकाले पारिश्रमिक नदिएको भन्दै पत्रकारहरु आन्दोलित भएका हुन् ।
वर्ष दिनदेखि यो रेडियोमा काम गर्दै आएका छ जना कर्मचारी तथा पत्रकारहरुले पारिश्रमिक नपाएको बताएका छन् । उनीहरुले दश लाख रकम पाउन बाँकी रहेको जनाएका छन् । पत्रकारहरु हिरा परियार, सत्यबहादुर बटाला, सुनिल बिक, प्रकाश गौतम, कल्पना बिक र सीता शाहीले काम गरेको पारिश्रमिक नपाएका हुन् । तलब माग गर्दा सञ्चालन समितिका अध्यक्ष मानबहादुर चनाराले आफूहरुलाई उल्टै थर्काएको उनीहरुले गुनासो गरेका छन् ।
पारिश्रमिक माग गर्दै आएका उनीहरुले आज मंगलबारदेखि पहिलो चरणको आन्दोलन सुरुवात गरेका छन् । पहिलो चरणको आन्दोलन अन्तरगत मंगलबार विरोध र्याली निकालिएको श्रमजीवि पत्रकार संघ नेपालका संयोजक सत्य बटालाले जानकारी दिनुभयो । उहाँका अनुसार श्रमजीवि पत्रकार संघ र रेडियो नयाँ नेपाल संघर्ष समितिको संयुक्त आयोजनामा र्याली निकालिएको हो ।
नगरपालिकाको राडी बजारमा र्याली निकालेर कोणसभा गरिएको हो । सभालाई नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अमरराज पुन, प्रेस सेन्टरका कर्णाली प्रदेश कोषाध्यक्ष गोपाल रेग्मी, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष भरत । चन्दलगायतले सम्बोधन गरेका छन् । उनीहरुले तत्काल पारिश्रमिक उपलब्ध गराउन रेडियो सञ्चालक समितिलाई अनुरोध गरेका छन् ।
विरोध र्यालीमा चार बुँदे माग राखिएको छ । अविलम्ब पारिश्रमिक दिनुपर्ने, श्रमजीवि पत्रकारिता ऐनअनुसार पारिश्रमिक व्यवस्था गरिनुपर्ने, परिक्षणकाल पूरा गरेका कर्मचारीलाई स्थायी गरिनुपर्ने र हकअधिकारको विषयमा बोलेकै भरमा निश्कासन गर्ने, जगेडामा राख्ने, अनावश्यक तनाव दिने, राजीनामा दिन बाध्य पार्ने जस्ताका कार्य बन्द गर्न माग गरिएको छ ।
माग सम्बोधन नगरिएमा असार ९ गते सामाजिक सञ्जालमार्फत् रेडियो व्यवस्थापनको भण्डाफोर गर्ने, असार १२ गते रेडियोमा १ घण्टा धर्ना र नाराबाजीको कार्यक्रम गर्ने र त्यति गर्दा पनि माग पूरा नभए दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने संयोजक बटालाले बताउनुभयो ।
पत्रकारहरुले पारिश्रमिक नपाएको विषयमा आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीसँग पनि छलफल गरिएको बताइन्छ । नगर प्रमुखद्वारा समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाइएको पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए ।
टिप्पणीहरू