प्रचण्डको हैरानी पोखरा पुगेर पोखियो
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘डाइनामिक’ दाबी गर्ने गरेको उहाँको कार्यशैली आमरुपमा भने अस्थिर चरित्रका रुपमा चित्रित छ । १७ वर्षदेखि निरन्तर राष्ट्रिय राजनीतिको केन्द्रमा रहनुभएका उहाँले पार्टीभित्र र बाहिर गरेका निर्णय र खेलेका भूमिकालाई लिएर अस्थिरताको आरोप लाग्ने गरेको हो । स्थानीय चुनावमा नेपाली कांग्रेससँग सहकार्य गरेर लगत्तैको संसदीय निर्वाचनमा वाम गठबन्धन गर्ने विगतको निर्णयका कारण काँग्रेस वृत्तले उहाँमाथि अहिले पनि उतिसाह्रो विश्वास गर्दैन ।
आगामी मंसिरमा हुने संघ तथा प्रादेशिक चुनावअघि नै एमाले र माओवादीबीच सम्भावित गठबन्धनको चर्चा र दुबैतिरका एकथरि नेताहरुको दौडधुप देखिरहेका कांग्रेसीहरु प्रचण्डको ‘भर पर्न नहुने’ निष्कर्षमा छन् भनिन्छ । तर,प्रचण्डले भने आगामी चुनावसम्मै पाँचदलीय गठबन्धन कायम रहने र वाम एकताका नाममा एमालेसँग सहकार्य असम्भव रहेको पटक-पटक प्रष्टीकरण दिँदै आउनुभएको छ । केपी ओलीका कारण एमालेसँग सहकार्यको सम्भावना सकिएको निचोडमा प्रचण्ड पुगेको माओवादी नेताहरु बताउने गर्छन् ।
तर, माओवादीकै अर्को एउटा खेमा भने प्रचण्डको अनिच्छाका बाबजुद एमालेसँग चुनावी मोर्चा कस्ने तयारीका साथ आन्तरिक छलफलमा जुटेको छ । यसको पुष्टि स्वयं प्रचण्डले गत शनिवार पोखरा पुगेर गर्नुभएको हो । कार्यक्रम थियो – माओवादी केन्द्रको गण्डकी प्रदेश समितिले आयोजना गरेको प्रदेशस्तरीय वैचारिक,राजनीतिक प्रशिक्षण तथा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण । प्रचण्ड प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक देव गुरुङ,शिक्षामन्त्री देवेन्द्र पौडेल, संविधानविद तथा पार्टी नेता खिमलाल देवकोटालगायतका नेताहरु पनि सहभागी थिए ।
स्थानीय तह सञ्चालन,कानुन निर्माणलगायत विषयमा नवनिर्वाचित जनप्रतिनिधिलाई तालिम दिन आयोजित कार्यक्रममा प्रचण्डले केही नेताको नामै किटेर उनीहरुको बालकोट दौडधुपप्रति असन्तुष्टि जनाउनुभयो । कार्यक्रममा प्रचण्ड र नारायणकाजीबीच यसैलाई लिएर केही घोचपेच पनि भयो । शुरुमा १० मीनेट बोल्छु भनेर माइक समात्नुभएका नारायणकाजी कमरेडले झन्डै एक घण्टा बोल्नुभयो । महाधिवेशनले राष्ट्रिय स्वाधिनताको आन्दोलन अघि बढाउने नीति पास गरेको भन्दै उहाँले एमसीसीमा प्रचण्डको भूमिकाको घुमाउरो आलोचना गर्नुभयो । वर्तमान सरकार राष्ट्रियताको मुध्दामा कम्जोर रहेकाले एमालेसँग सहकार्य गर्नुपर्ने आशय नेता श्रेष्ठको थियो ।
त्यसपछि बोल्ने पालो आयो प्रचण्डको । १० मीनेट भनेर नारायणकाजीले एक घण्टा बोलेपछि काठमाडौँ फर्किने जहाजको टिकट सारेर बोल्न थाल्नुभएका उहाँले पनि झन्डै डेढ घण्टा भाषण गर्नुभयो । केहीबेर जनयुध्दको विषय उप्काएपछि प्रचण्डले एमालेसँग सहकार्यको पक्षमा रहेका नारायणकाजी र देव गुरुङप्रति कटाक्ष गर्नुभएको थियो । गुरुङको त नामै लिएर एमालेसँग मिल्न धेरै जोड गरेको भन्दै उहाँले सार्वजनिक असन्तुष्टी नै जनाउनुभयो ।
एमसीसीको ब्याख्यात्मक घोषणाप्रति असन्तुष्ट गुरुङलाई प्रचण्डले भन्नुभयो, ‘गुरुङजी अलि बढी नै जोड गर्नुहुन्छ, १२ बुँदे व्याख्यात्मक घोषणा पनि केही हैन जस्तो गर्नुहुन्छ । तर,केपीलाई त १२ बुँदे पनि चाहिएको थिएन, हुबहु पारित गर्नुपर्छ भन्ने हो उनको । अनि अहिले उनै राष्ट्रवादी भनेर साथीहरु दौडिनुभएको छ । केही त प्रवेश नै गरे । यो गलत हो ।’ रमाइलो कुरा चैं, प्रचण्ड आक्रोशित भएपछि नारायणकाजीले गिलासमा पानी हालेर रोष्टममै लगिदिनुभएको थियो ।
विगतमा एमालेसँगको सहकार्यलाई प्रचण्डले पनि गलत भन्नुभएको छैन । ०७४ सालमा वाम गठबन्धन गर्नेदेखि पार्टी एकतासम्मको प्रक्रियामा आफ्नो मुख्य भूमिका रहेको उहाँको दाबी रहँदै आएको छ । तर,अहिले नेताहरु नारायणकाजी, देव गुरुङ,वर्षमान पुनलगायतले एमालेसँग मिल्न दबाब दिने उध्देश्यले बालकोटसँग हिमचिम बढाएकोमा भने उहाँ सन्तुष्ट नरहेको पोखराको भाषणमा प्रष्टै देखिन्थ्यो ।
खुमलटार निकटहरुका अनुसार ओलीले विगतको कमजोरीको आत्मसमीक्षा गर्ने सम्भावना नरहेकाले सहकार्यका लागि प्रयास गर्नु निर्रथक हुने प्रचण्डको बुझाइ हो । ‘दुई-दुई पटकको संसद विघटनलाई ठीक भन्ने ओली र आन्दोलनको बलमा प्रतिनिधिसभा पुनर्स्थापित गरायौँ भन्ने माओवादीबीच यथास्थितिमा कसरी सहकार्य हुन्छ ? सम्भव छैन। अध्यक्षको असन्तुष्टी पनि सायद त्यहि हो’, स्रोतले भयो ।
तर, नारायणकाजी र वर्षमानहरुका सार्वजनिक अभिव्यक्तिमा भने वाम गठबन्धनको सम्भावना झल्किन्छ । प्रचण्ड निकटहरुको भनाइ छ – ओलीलाई राष्ट्रवादी ठान्ने दृष्टिकोण नै त्रुटिपूर्ण छ । एक नेता भन्छन्, ‘चुच्चे नक्सा पास गर्न तत्कालीन नेकपाको जोडबलमा ओली राजी हुनुभएको हो,एमसीसी हुबहु पास गराउन सत्तामा हुँदा के-के गर्नुभयो भन्ने कुरा छर्लंगै छ। अनि फेरि हाम्रै साथीहरु उनलाई राष्ट्रवादी देख्नुहुन्छ । यो बडो बिचित्र छ !’
ओलीले पार्टीको दबाबमा नक्सा पारित गराउन आफू बाध्य भएको भन्दै ठाउँ-ठाउँमा बोलेको र भारतीय पक्षलाई त्यहि अनुसार कन्भिन्स गराएको दाबी माओवादीका नेताहरुको छ । त्यसैको परिणामस्वरूप चुच्चे नक्सा समावेश गरेर शिक्षा मन्त्रालयले छापेका पाठ्यपुस्तक वितरणमा रोक लगाएको उनीहरुले भन्ने गरेका छन् । एमसीसीमा त ओली खुलेरै पक्षमा लाग्नुभएको हो । आफू प्रधानमन्त्री हुँदा हुबहु पास गराउन उहाँले गरेको जोडबल र प्रचण्ड र माधव नेपालहरुका कारण रोकिएको तथ्य सार्वजनिक नै छ ।
वास्तवमा पछिल्लो कालखण्डमा एमसीसीमा च्याँखे दाउ थापेर सत्ता गठबन्धन टुक्राउने ओलीको रणनीति थियो । सोहीअनुसार एमालेले नबोल्ने निर्णय गरेको हो । तर, भित्रभित्रै भने गठबन्धनबाट बाहिरिने शर्तमा ओलीले प्रधानमन्त्री देउवालाई दुई तिहाई मतका साथ सानदार ढंगले एमसीसी पास गराउन सघाउने प्रस्ताव गरेको कुरा त्यतिबेलै बाहिर आएको थियो । एमालेको ‘नबोल्ने’ रणनीतिप्रति असन्तुष्ट भएको अमेरिकाले नै यो तथ्य एक्स्पोज गरिदिएको हो भनिन्छ ।
अहिले एसपीपीका सन्दर्भमा पनि ओली ‘पानीमाथिको ओभानो’ हुन नसक्ने प्रमाण र तथ्यहरु बाहिरिइसकेका छन् । संसद्को रोष्टमबाट प्रमाण देखाउन चुनौती दिएको दुई घण्टा नबित्दै ओली प्रधानमन्त्री भएका बेला जंगीअड्डाले अमेरिकी दूतावासलाई एसपीपीमा सहभागिताका लागि लेखेको पत्र सार्वजनिक भैसकेकाले अब गुह्य कुरा लुकाउन सजिलो छैन ।
तर,यी सबै तथ्यसँग जानकार नेताहरुले नै ओलीलाई राष्ट्रवादी भन्न थालेपछि हैरान भएर प्रचण्डले पोखरामा मुख खोल्नुपर्ने अवस्था बनेको माओवादी नेताहरु बताउँछन् ।
टिप्पणीहरू