रुसले बेलारुसलाई आणविक हतियारको पछिल्लो प्रणाली दिने

रुसले बेलारुसलाई आणविक हतियारको पछिल्लो प्रणाली दिने

रुसले छिमेकी देश बेलारुसलाई आणविक हतियार बोकेर प्रहार गर्न सक्ने मिसाइल प्रणाली उपलब्ध गराउने भएको छ । रुसी विदेश मन्त्रालयका अनुसार राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका आफ्ना समकक्षीलाई ‘मस्कोले मिन्स्क’ लाई उक्त मिसाइल प्रणाली उपलब्ध गराउने जानकारी दिएको हो ।

बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले आफ्ना छिमेकी मुलुक लिथुआनिया र पोल्याण्डको ‘द्वन्द्वात्मक’ र ‘घृणित’ नीतिबारे चिन्ता व्यक्त गर्दै पुटिनसँग सहयोगका लागि अनुरोध गरेका थिए । जवाफमा पुटिनले लुकासेन्कोलाई बेलारुसको रुसी एसयु–२५ मिसाइललाई अपग्रेड गर्न सकिने आश्वासन दिएका हुन् ।

बेलारुसका राष्ट्रपति लुकासेन्कोले आफ्नो देश र रुसलाई एउटै छातामुनि राख्दै भनेका छन्, ‘ब्रेस्टदेखि भ्लादिभोस्तोकसम्म हाम्रो मातृभूमिको रक्षाका लागि महत्वपूर्ण हतियारको प्रयोग गर्न र अन्य जुनसुकै विषयमा पनि मिन्स्क तयार हुनुपर्छ ।’

रुसी विदेश मन्त्रालयले पुटिनलाई उदृत गर्दै भनेको छ, ‘हामी बेलारुसलाई इस्कन्डर–एम रणनीतिक मिसाइल प्रणाली हस्तान्तरण गर्नेछौं, जसले ब्यालिस्टिक र क्रुज मिसाइलहरू दुवै परम्परागत र आणविक भर्सनमा प्रयोग गर्न सकिन्छ ।’

द्वन्द्वको राजनीतिक समाधान खोज्न तयार पारिएको मिन्स्क सम्झौतामाथि फ्रान्स, जर्मनी, रुस र युक्रेनका नेताहरूबीच फेब्रुअरी २०१५ मा वार्ता भएको थियो । यद्यपि, उक्त सम्झौता भएपनि अहिलेसम्म कुनै पक्षबाट समेत पालना भएको छैन ।

टिप्पणीहरू