हिजोका यी समानान्तर भेटको के हो अर्थ ? मन्त्री फेर्ने या सत्ता गठबन्धन ?

हिजोका यी समानान्तर भेटको के हो अर्थ ? मन्त्री फेर्ने या सत्ता गठबन्धन ?

नेकपा एकीकृत समाजवादीले पार्टीको औपचारिक निर्णयबाट आफ्ना मन्त्री फेर्न गरेको अनुरोधलाई लत्याएको बालुवाटारले हिजो शनिबार पनि बिहानदेखि बेलुकीसम्म राजनीतिक भेटघाटलाई निरन्तरता दिएको छ । उक्त निरन्तरतामा नेपाली काँग्रेसका नेताहरुबाहेक खुमलटार र हात्तिवनका नेताहरुको पनि उपस्थिति देखिएको हो ।

सत्तारुढ गठबन्धनको एउटा घटक तथा एमाले विभाजनपछि गठित नेकपा एकीकृत समाजवादीको जगमा उभिएको वर्तमान सरकारका प्रधानमन्त्री र अन्य दलका नेताहरुले भने हिजोको बैठकमा एकीकृत समाजवादीका अध्यक्षलाई समावेश गरेका थिएनन् । एकीकृत समाजवादीले औपचारिक निर्णयसहित मन्त्री फेर्न आग्रह गर्दा आनाकानी गर्नुहुने प्रधानमन्त्री देउवा र सत्ता गठबन्धनका अन्य नेताहरुमाथि पनि पार्टीभित्र मन्त्री परिवर्तनको दबाब परेको देखिन्छ ।

हिजो बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहानै दुई घण्टा भेटवार्ता हुनुलाई शुक्रबार उत्पन्न राजनीतिक घटनाक्रमको उपजको रुपमा अर्थाइएको छ ।

त्यसपछि दिउँसो खुमलटारस्थित दाहाल निवासमा अध्यक्ष दाहाल र स्वास्थ्यमन्त्री विरोध खतिवडा,सहरी विकास मन्त्री रामकुमारी झाक्री र श्रममन्त्री कृष्णकुमार श्रेष्ठ (किसन) बीच ४५ मीनेटभन्दा बढी कुराकानी भएको थियो । अस्ति संसदीय दलको बैठक बोलाउन माग गर्दै चार जना मन्त्री र अन्य छ जना सांसदले संसदीय दलका नेता तथा अध्यक्ष माधवकुमार नेपाललाई लिखित ध्यानाकर्षण जनाएका थिए ।

तर हिजो अपरान्ह १० जनामध्ये एक जना मन्त्री र पाँच जना सांसदले उक्त ध्यानाकर्षणमा गरिएको हस्ताक्षर फिर्ता लिएको जानकारी गराएका छन् । हस्ताक्षर फिर्ता नलिने मन्त्री उनै तीन जना हुन् जो निरन्तर बालुवाटार र खुमलटारको सम्पर्कमा थिए । यसबीचका पार्टी बैठकहरुमा समेत उनीहरुको सहभागिता ‘देखाउनको लागि’ मात्र भएको स्रोतको दाबी छ ।

नेकपा एकीकृत समाजवादीभित्र मन्त्री फेर्ने निर्णयपछि उत्पन्न परिस्थिति र सरकारको भविश्यलाई लिएर हिजै दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच फेरि आधा घण्टा भेटवार्ता भएको थियो । बिहान प्रधानमन्त्रीसँग भेटवार्ता गरेर एकीकृत समाजवादीका मन्त्रीहरुसँग छलफल गर्नुभएका दाहाल त्यसपछि छलफलको निश्कर्ष सुनाउन बालुवाटार पुग्नुले पनि राजनीतिक समस्या भुसको आगोझैँ भित्रभित्रै सल्केको अर्थ लगाउन कुनै गाह्रो छैन ।

प्रचण्डसँग छुट्टै भेटवार्तापछि हिजै दिउँसो बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष दाहाल,नेता नारायणकाजी श्रेष्ठ, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र काँग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच साढे दुई घण्टा लामो भेटघाट हुनुुलाई ‘सामान्य’ रुपमा लिन नहुने राजनीतिक विश्लेषकहरुको बुझाइ छ ।

माओवादी र सत्ता घटकका नेताहरुको कुरो सुनेपछि हिजै साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा नरहेका लोसपा अध्यक्ष महन्थ ठाकुरलगायतसँग भेटवार्ता गर्नुभयो । सो क्रममा लोसपा नेताहरु लक्ष्मणलाल कर्ण, उमाशंकर चौधरीको उपस्थिति थियो ।

उक्त भेटमा प्रधानमन्त्रीले काँग्रेस उपसभापति खड्का र वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत सामेल गराउनुले हिजोको भेटघाटलाई एकाध मन्त्री फेर्ने र राख्ने उद्देश्यको रुपमा मात्र लिन नहुने बताइन्छ । कतिपयले समानान्तर रुपमा लोसपासँग भइरहेको भेटघाटलाई सत्ता गठबन्धनमा फेरबदल ल्याउने प्रयासको रुपमा पनि बुझेका छन् ।

टिप्पणीहरू