माधवका मन्त्रीहरुले सम्भवत: आज राजीनामा दिने,नयाँको शपथ आजै

माधवका मन्त्रीहरुले सम्भवत: आज राजीनामा दिने,नयाँको शपथ आजै

नेकपा एकीकृत समाजवादीका चार मन्त्रीले आज राजीनामा दिने भएका छन् । मन्त्री हेरफेर गर्ने पार्टीको निर्णयलाई चुनौती दिँदै आएका उनीहरुले चर्को दबाबपछि अन्तत: सामूहिक राजीनामा दिन लागेका हुन् ।

समाजवादीका चार मन्त्रीहरु विरोध खतिवडा,रामकुमारी झाँक्री,प्रेम आले र किसान श्रेष्ठ आजै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने र लगत्तै नयाँ मन्त्रीलाई शपथ गराउने गरी तयारी मिलाइएको बताइएको छ ।

समाजवादीले गत जेठ २२ गते सरकारमा रहेका आफ्ना पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको थियो । तर,पार्टीको आन्तरिक सहमतिका आधारमा ६ महिना कार्यकाल पूरा गरेका मन्त्रीलाई फिर्ता बोलाएर अर्को टीम पठाउने निर्णय मन्त्रीहरुकै कारण कार्यान्वयन हुन सकेको थिएन ।

१० सांसदले पार्टी निर्णयविरुद्ध मोर्चावन्दी गरेपछि चर्किएको विवादका बीच हिजो बसेको केन्द्रीय समिति बैठकले कुनै पनि हालतमा पार्टीको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेपछि मन्त्रीहरु राजीनामा दिन बाध्य भएका हुन् ।

समाजवादीको निर्णयपछि गठबन्धनका अन्य दल खासगरी जनता समाजवादी पार्टी (जसपा) मा पनि मन्त्री फेर्नुपर्ने माग चर्को रुपमा उठेको थियो । तर,आज समाजवादीका चार मन्त्रीको मात्रै शपथ गराउने प्रधानमन्त्रीको तयारी छ ।

टिप्पणीहरू