ललितपुर महानगरका सडकमा चटपटे बेच्न नपाइने

ललितपुर महानगरका सडकमा चटपटे बेच्न नपाइने

ललितपुर महानगरपालिकाले ठेलागाडामा पानीपुरी र चटपटे बिक्री वितरणमा रोक लगाएको छ । खुल्ला ठाउँमा राखिएका खानेकुरा प्रदुषित हुने र त्यसले जनस्वास्थ्यमा असर गर्ने भएकाले महानगरले एक हप्ताका लागि ठेलागाडा पसल हटाउन लागेको हो ।

नगरप्रहरी प्रमुख सीताराम हाछेथुले स्वास्थ्य मन्त्रालयको पत्रअनुसार महानगरले यस्तो निर्णय गरेको र त्यसको कार्यन्वयनमा आफूहरु खटेको जानकारी दिए । उनले खुल्लास्थानमा खानेकुरा बिक्री वितरण गर्दा धुलो, धुवाँ र फोहोर सजिलै मिसिने भएकाले यस्तो निर्णय गर्नुपरेको पनि बताए ।

काठमाडौंको बागबजार क्षेत्रमा देखिएको हैजा पानीकै कारण भएको तथ्य बाहिरिएपछि स्वास्थ्य मन्त्रालयको परिपत्र कार्यान्वयन गराउन नगर प्रहरीले एक हप्ताको निम्ति ठेलागाडामा पानिपुरी, चटपटे बिक्री वितरण नगर्न माइकिङ गर्दै हिँडेको हाछेथुले जानकारी दिए ।

होटल,रेष्टुरेन्ट र सटरमा सञ्चालित पानीपुरी पसलको हकमा भने पानीको जाँच गरेरमात्रै निर्णय गरिने उनको भनाइ छ । महानगरको निर्देशनलाई अवज्ञा गरेको पाइएमा नगर प्रहरीले कारवाही गर्ने पनि उनले चेतावनी दिएका छन् ।

महानगरले पानीपुरीमा प्रयोग गरिने पानी दूषित र हैजाका जीवाणु मिसिएको हुनसक्ने भन्दै एक हप्ते अभियान सुरु गरेको हो ।

टिप्पणीहरू