हवाई इन्धनको मूल्य नघटाइएकोमा हवाइजहाज मालिकहरुको आपत्ति
नेपाल आयल निगमले गए रातिदेखि पेट्रोल र डिजेलको मूल्य घटाए पनि हवाई इन्धनको मूल्य नघटाएकोमा वायुसेवा सञ्चालक संघले आपत्ति जनाएको छ । आन्तरिक र वाह्य उडानमा प्रयोग हुने हवाई इन्धनको खुद्रा बिक्री मूल्य यथावत राख्ने निगमको निर्णयप्रति संघले ध्यानाकर्षण जनाएको हो ।
संघले आज जारी गरेको विज्ञप्तिमा हवाई इन्धनको मूल्य नघटाइएकोमा असन्तुष्टि व्यक्त गरिएको छ । विगत दुई वर्षदेखि कोरोना महामारीका कारण मारमा परेको वायुसेवा कम्पनीलाई सरकारले थिचोमिचो गरेको उसको आरोप छ । ‘लगातार दुई वर्षदेखि कोभिड महामारीको कहर तथा त्यस अवधिमा ८ महिना हवाई सेवा पूर्ण रुपमा बन्द हुँदा वायुसेवा सबैभन्दा धेरै मारमा परेका छन्’, विज्ञप्तिमा उल्लेख छ ।
साथै, अहिले पनि सस्तो भाडामा सेवा सञ्चालन गर्न बाध्य भएको उसको दाबी छ । हवाई सञ्चालन खर्चको ४० प्रतिशत हिस्सा इन्धनले ओगट्ने गरेको पनि जानकारी दिइएको छ । छिमेकी भारतको तुलनामा मुलुकमा इन्धन अत्यधिक मँहगो भएको र निगमले १० रुपैयाँ प्रतिलिटरभन्दा बढी मुनाफा नहुने गरी इन्धनको मूल्य समायोजन गर्नुपर्ने उसको सुझाव छ ।
टिप्पणीहरू