तलब नपाएपछि अर्थमन्त्रीको जिल्लाका पत्रकारहरु धर्नामा
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रहेको रेडियो नयाँ नेपालमा कार्यरत पूर्व पत्रकार तथा कर्मचारीहरुले रेडियोमै धर्ना दिएका छन् । आज उनीहरुले आफूले काम गरेको अवधिको पारिश्रमिक पाउनुपर्ने माग गर्दै एक घण्टा धर्ना बसेका हुन् ।
रेडियोमा कार्यरत ६ जना पत्रकार तथा कर्मचारीहरु दुई वर्षदेखि पारिश्रमिक नपाएपछि आन्दोलन स्वरुप धर्ना बसेका हुन् । उनीहरुले गत ७ गतेदेखि पारिश्रमिक माग गर्दै विभिन्न कार्यक्रम गर्दै आएका छन् । रेडियो सञ्चालक समितिले पारिश्रमिक दिने विषयमा वास्ता नगरेपछि आज रेडियोमै धर्ना दिइएको पत्रकार हिरा परियारले बताए ।
उनीहरुको आन्दोलनमा सुरुदेखि नै नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले ऐक्यबद्धता जनाएको छ । महासंघसहित जिल्लास्थित पत्रकारका विभिन्न संघ संगठनहरु नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले आन्दोलनमा साथ दिएका छन् । रेडियोमा काम गरेका छ जना पत्रकारले आफूहरुले झण्डै १० लाख रुपैयाँ पाउन बाँकी रहेको बताएका छन् ।
गत वर्ष नै पत्रकार महासंघ रुकुमको समन्वयमा रेडियो सञ्चालन समिति र पीडित पत्रकारहरुबीच पारिश्रमिक दिलाउन सहमति भएको थियो । सहमतिअनुसार पाँच लाख रुपैयाँ भुक्तानी भए पनि बक्यौता १० लाख नपाएपछि पत्रकारहरु आन्दोलित भएका हुन् ।
टिप्पणीहरू