बागमती किनारका घर टहरा हटाइन थाले
ललितपुर महानगरपालिका वडा नम्बर–४ सुन्दरीघाटस्थित बागमती किनारमा रहेको अव्यवस्थित टहरा हटाउन शुरु गरिएको छ । वडाध्यक्ष सन्तोष खड्का र ललितपुर महानगरका सुरक्षा प्रमुख सीताराम हाथेछुको नेतृत्वमा अव्यवस्थित टहरा हटाउन थालिएको हो ।
सुन्दरीघाटको पक्की पुलदेखि पश्चिमतर्फ जाने करिडोर विस्तारको निम्ति पुल वरपर सात टहरा स्काभेटरको प्रयोग गरी हटाइएको प्रहरीले जनाएको छ । त्यस्तै, उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को ट्याङ्की वरपरका तीन टहरा भत्काउन सात दिन माग भएको प्रहरीको भनाइ छ ।
टहरा भत्काउने क्रममा सामान निकाल्न त्यहाँका स्थानीयले सात दिनको समय दिन भनेपछि प्रहरी टोली फर्केको हो । यसअघि वडा कार्यालयले सूचना जारी गरेर १२ दिनभित्र उक्त स्थान खाली गर्न निर्देशन दिएको थियो । सुन्दरीघाटको झोलुङगे पुलदेखि सानेपा वरपरका क्षेत्र खाली गर्न आगामी असार २६ गतेसम्म समयसीमा तोकिएको छ ।
टिप्पणीहरू