मध्यराति हेडक्वार्टरको अधिकार उपेन्द्रको हातमा
जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति बैठकले मन्त्री हेरफेर गर्ने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । उपेन्द्रसहित संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई रहेको ‘हेडक्वार्टर’ ले अभ्यास गर्दै आएको उक्त अधिकार हिजो मध्यराति बसेको बैठकले उल्ट्याईदिएपछि अन्य दुई नेता ‘अधिकारविहीन’ हुन पुगेका छन् ।
यसअघि कार्यकारिणी समितिले उपेन्द्र , बाबुराम र अशोकसहितको ‘हेडक्वार्टर’ निर्माण गरी महत्वपूर्ण निर्णयमा तीनै जनाको हस्ताक्षर अनिवार्य गर्ने अधिकार दिए पनि सोमबारबाट दुई नेता अधिकारविहीन हुन पुगेका हुन् ।
‘हिजो बसेको बैठकले मन्त्री फेरबदलको अधिकार अध्यक्षज्यू (यादव)लाई दिएका छौं,’ केन्द्रीय कार्यकारिणी समितिका सदस्य मृगेन्द्रकुमार सिंहले भने, ‘सो अधिकारअनुसार अब चारैजना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ अनुहार पठाउनु हुनेछ ।’ उनका अनुसार नयाँ मन्त्री को-को रहनेछन् ? त्यो भने अझै खुलाइएको छैन ।
जसपामा आन्तरिक विवाद बढेपछि गत ३० फागुनमा केन्द्रीय समिति बैठक बस्न नसकेको खण्डमा तीन जना नेताले निर्णय लिने र तीनै जनाको हस्ताक्षर अनिवार्य हुने निर्णय भएको थियो । तर, स्थानीय तहको निर्वाचनपछि सो निर्णयअनुसार काम कारबाही नभइरहेको बेला उपेन्द्र पक्षले भट्टराई र राई दुवैलाई ‘आउट’ गरी मन्त्री हेरफेरको अधिकार अध्यक्ष यादवलाई दिएको हो ।
यसअघि उपेन्द्रको एकल हस्ताक्षरसहित आउने मन्त्री हेरफेरकोे निर्णय कार्यान्वयन नगराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बाबुरामले ध्यानाकर्षण गराइसकेका छन् । तर,अध्यक्ष उपेन्द्रले सोमबार पुनः अधिकार आफ्नो हातमा लिएपछि जसपाभित्रको आन्तरिक कलहले अब विभाजनको बाटो लिने देखिएको छ ।
टिप्पणीहरू