कहिलेसम्म र कतिसम्म बढ्छ पेट्रोलियम पदार्थको भाउ ?
विश्वभर पेट्रोलियम पदार्थको भाउ निरन्तर उकालो लाग्दै छ । रुस र युक्रेनबीच लडाईं भएपछि तेल र ग्यासको भाउ बढेको बताइन्छ । तेलको भाउ बढेपछि विश्वभर खाद्यान्न र अन्य सबै सामान र सेवाको मूल्य पनि आकाशिएको हो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठका अनुसार अहिले तेलको मूल्यलाई अर्थशास्त्रको सामान्य सिद्धान्तअनुरुप माग र आपूर्तिको दृष्टिकोणले हेरिनुपर्छ । यसको माग धेरै र आपूर्ति संकुचित भएकाले भाउ बढ्नु स्वाभाविक हो । त्यसमा पनि युक्रेन युद्धले सबैतिर प्रभाव पारेकाले पेट्रोलियम पदार्थमा बढेको महँगी केही समय रहने उहाँको बुझाइ छ ।
कोभिड महामारीपछि अहिले देखिएको रुस र युक्रेनको युद्ध पनि कुुनै बेला अन्त्य हुने विश्वासमा बस्नुपर्ने अरु अर्थशास्त्रीहरुको पनि भनाइ छ । यस्तो अवस्थामा अव विश्वले नै तेलको विकल्प खोज्नुपर्ने डा. श्रेष्ठ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘पछिल्ला दिनमा पेट्रोलियम पदार्थको नयाँ विकल्प आइरहेको छ । आपूर्तिमा पनि नयाँ अवस्था देखिँदैछ । तत्काल भाउ घट्ने छाँट देखिँदैन । त्यसैले यसलाई हाम्रो जस्तो सानो र गरिब अर्थतन्त्र भएको मुलुकले विकल्पमा ध्यान दिनुपर्छ ।’
यता रुसलाई ठीक ठाउँमा ल्याउन उसको तेल निर्यातमा भइरहेको परिमाण नखस्केको बताइन्छ । रुस अझै पनि तेल र ग्यास निर्यातमा अगाडि नै छ । अमेरिका र उसका साझेदार मुलुकले आर्थिक नाकाबन्दी लगाएको अवस्थामा पनि रुसले आफ्ना रणनीतिक साझेदार मुलुकहरूलाई पेट्रोलियम पदार्थ बिक्री गरिरहेको छ । विशेषगरी पूर्वी र मध्य युरोप, चीन, भारत र सीमाना जोडिएका मुलुकमा उसले ठूलो परिमाणमा पेट्रोलियम पदार्थ बिक्री गरिरहेको छ ।
युरोपमा अमेरिकाले रुसी तेल र ग्यासको विकल्प दिन नसक्ने भएकोले रुसी तेलको अभावमा धेरैजसो युरोपेली मुलुकको दैनिकी नै डाँवाडोल हुने अवस्था बन्ने अवस्थाले पनि रुसमाथिको प्रतिबन्ध कार्यान्वयन हुन नसकेको हो ।
यसअघि सन् २००७–०८ तिर पनि विश्वमन्दीका कारण पेट्रोलियम पदार्थको भाउ ह्वात्तै बढेको थियो । त्यसपछि बिस्तारै घटेर तल झर्यो । त्यतिबेला १२५ डलर प्रतिब्यारेल पुगेको कच्चा तेल दुई वर्षअघि घटेर २५ देखि ३० डलर प्रति ब्यारेलमा आइपुगेको हो ।
यसअघि सन् १९७१ तिर पनि त्यसैगरी भाउ बढेको थियो । त्यतिबेला विश्वमा देखिएको तेल संकट भयावह थियो । तर पछि फेरि घटेकाले अहिलेको भाउ पनि केही समयपछि घट्ने विश्वास डा. श्रेष्ठको छ ।
अबको विश्वमा तेल निर्यात मुलुकको भूमिका, वैकल्पिक ऊर्जाको सम्भावना र त्यसपछि देखिने पेट्रोलियम पदार्थको मागको अवस्थालगायतले पनि आगामी दिनमा यसको भाउ निर्धारण हुने बताइन्छ ।
पछिल्लो केही वर्षदेखि विश्वमा तेलको प्रयोगबाट उत्पन्न हुने वायुप्रदुषण घटाउनको निम्ति यसको प्रयोग र आपूर्तिमै कमी ल्याइएकाले पनि मूल्यवृद्धिमा सहयोग पुगेको हो वातावरण र पर्यावरणको हिसाबाले विश्वव्यापी प्रतिबद्धताका कारण तेल आपूर्ति विश्वभर घटेको छ । यसले पनि मूल्यवृद्धिमा सहयोग पुर्याएको डा. श्रेष्ठको निश्कर्ष छ ।
उहाँले भन्नुभयो, ‘भारतले रुससँग सस्तोमा पेट्रोलियम पदार्थ किने पनि अरुलाई बेचेको छैन । यस्तो तेल प्रायः निजी कम्पनीले किनेर प्रशोधन गरेपछि महँगोमा मध्यपूर्व, युरोप र विकसित मुलुकमा पठाउने गरिएको पाइएको छ ।’
टिप्पणीहरू