शिष्टाचार सिकाउनेको अशिष्ट स्टाइल : सरकारी निम्तोमा सिनेमा र सुरा

शिष्टाचार सिकाउनेको अशिष्ट स्टाइल : सरकारी निम्तोमा सिनेमा र सुरा

बेलायतका लागि नेपाली राजदूतको जिम्मेवारीबाट फर्केलगत्तै परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापालको जिम्मेवारी पाएका र विदेश पोस्टिङ्गको छोटो अन्तरालमै जापानको लागि राजदूत नियुक्त हुनै लागेका थोरै मात्र भाग्यमानीमध्येमा पर्दछन् दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री) । उनी साहित्यिक नाम दुबसु भनेर पनि चिनिन्छन् ।

अरु वरिष्ठ कर्मचारीलाई लत्याएर देउवा सरकारले काङ्ग्रेसको कोटामा उनलाई सबैभन्दा बढी तलब पाइने जापानकोनिम्ति राजदूत बनाएको छ । त्योभन्दा पनि महत्वपूर्ण पक्ष उनी मन्त्रालयका शिष्टाचार महापाल हुन् । उक्त पद भनेको देशी विदेशी सारालाई शिष्टाचार सिकाउने हो । खराब आचरण मनाहीको निम्ति उक्त पदमा जो पायो उसलाई लगिँदैन । तर अहिले शिष्टाचार महापाल सुवेदी नै अशिष्ट व्यवहारको अनुपम नमूना बनेका छन् ।

सरकारी हैसियतमा रहेका उनै सुवेदीले मुलुकको निशान छाप,पदीय हैसियत,अफिसको टेलिफोन र इमेल दुरुपयोग गरेर जाँड पार्टीको आयोजना गरेका छन् । निम्तो कार्डमा परराष्ट्र मन्त्रालयको समग्र हैसियत राखिएको छ ।

कवि दुवसुलाई मन लाग्दा आफन्त,साथीभाइसङ्ग निजी खर्चमा रम्ने अधिकार छ । तर,यसैलाई शिष्टाचार महापालको हैसियतले बेरेर आफ्ना मान्छेलाई जाँड पार्टी र सिनेमा देखाउने कार्यक्रम फत्ये गरिएको छ । जेठ २७ गते शुक्रबारका निम्ति निर्धारित उक्त कार्यक्रममा ९९ प्रतिशत नेपाली काँग्रेस निकटहरुलाई बोलाइएको थियो । एकाध विदेशी पनि त्यहाँ पुगेको बताइन्छ ।

“कवि दुवसुलाई मन लाग्दा आफन्त,साथीभाइसङ्ग निजी खर्चमा रम्ने अधिकार छ । तर,यसैलाई शिष्टाचार महापालको हैसियतले बेरेर आफ्ना मान्छेलाई जाँड पार्टी र सिनेमा देखाउने कार्यक्रम फत्ये गरिएको छ ।”

मन्त्रालयले औपचारिक निर्णय नगरी उनले सरकारी पदको दुरुपयोग गरेर आयोजना गरेको उक्त कार्यक्रमले शिष्टाचार महापालको आवरणभित्र रचिएको विभिन्न योजनालाई उदाङ्गो पारिदिएको छ । कूटनीतिक क्षेत्रका महानुभावलाई आचार, व्यवहार सिकाउने व्यक्तिले नै व्यक्तिगत सनकमा यसरी राज्यको कूटनीतिक क्षेत्र हाँस्ने गरी पद र जिम्मेवारीको दुरुपयोग गर्दा पनि सम्बध्द पक्षले मौनता साँधेका छन् ।

नेपाली काँग्रेस नेतृत्वको सरकार र उसैको परराष्ट्र मन्त्री भएको बेला सुवेदीले देखाएको हर्कतवारे कूटनीतिक क्षेत्रमा कानेखुशी चल्न थालेको छ । झापाली भएका कारण उनलाई यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बिशेष माया गरेका थिए ।

उनैका भाइ कृष्णकुमार सुवेदी (कृसु) अहिले मन्त्रीको पिए छन् । अघिल्लो महिना अर्का दाजु रामकुमार सुवेदीलाई अमेरिकाको टेक्सासका निम्ति अवैतनिक पर्यटन दूत नियुक्त गराउन सफल भएका छन् । सँधै जय नेपाल भनेकै भरमा एकपछि अर्को हैसियत पाउँदै गएपछि मतदानको बखतमात्रै रुख चिन्हमा स्वस्तिक छाप लगाउने मन्त्रालयका अरु काँग्रेसी कर्मचारी भने अचम्ममा परेका छन् ।

 

टिप्पणीहरू