प्रचण्डले भन्नुभो- ‘माओवादीहरूको एकता मेरो नेतृत्वमा मात्रै सम्भव छ !’
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादी धाराहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनु भएको छ । आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अप्ठेरो नमानी आफ्नो नेतृत्वमा गोलबद्ध हुन् विभाजित माओवादी घटकहरुलाई आह्वानसमेत गर्नुभयो ।
साना-साना पसल थापेर लक्ष्य हाँसिल नहुने भन्दै अध्यक्ष प्रचण्डले जनता र कार्यकर्ताले पनि माओवादीहरूलाई एकताबद्ध हुन निर्देशित गरेको बताउनुभयो । ‘भिन्न तरिकाले क्रान्ति गर्छु भन्दै जानुभएका सबै नेताहरु जे जस्तो अनुभव बटुल्नु भएको छ अब ती सबै अनुभवलाई सँगालेर एक हुनुको विकल्प छैन । सबै माओवादीहरू एक भएर जान सके परिवर्तन सम्भव छ’, उहाँले भन्नुभयो ।
पार्टीको आठौँ महाधिवेशनमा आफूले माओवादी आन्दोलनको गम्भीर समीक्षा गरेको बताउनु हुँदै उहाँले अहिले भएका सारा परिवर्तनको नेतृत्व गरेको माओवादी पार्टी टुटफुटका कारण अन्योल भएको टिप्पणी गर्नुभयो । आ-आफ्ना गल्ती स्वीकार्दै सबै माओवादी घटक एक ठाउँमा आउनु पर्नेमा प्रचण्डको जोड छ ।
नमिठो लागे पनि थुप्रै कमीकमजोरीका बाबजुत माओवादी आन्दोलनलाई एकीकृत र केन्द्रीकृत गर्ने काम आफ्नो नेतृत्वमा मात्रै सम्भव रहेको प्रचण्डको भनाई छ । ‘प्रचण्डकहाँ किन जाने भनेर लाज नमानौँ, माओवादी आन्दोलनको एकता मेरै नेतृत्वमा मात्र सम्भव छ’ उहाँले भन्नुभयो।
विप्लव नेतृत्वबाट अलग भएका ओमप्रकाश पुनलगायत ४ जना केन्द्रीय सदस्यसहित ६ दर्जन जना नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
टिप्पणीहरू