हङकङको सफलतामा मातृभूमिको अटुट समर्थन
हङकङ बेलायतको अधिनबाट मातृभूमिको काखमा फर्केको रजत जयन्ती समारोह भोलि मनाईंदैछ । सन् १९९७ को जुलाई १ का दिन हङकङ ९९ वर्षपछि चीनलाई हस्तान्तरण गरिएको थियो । पछिल्लो अवधिमा मातृभूमि अर्थात मुख्यभूमिले हङकङको विकास र समुन्नतिको निम्ति निरन्तर समर्थन र सहयोगलाई जारी राखेको छ ।
चीनको दरिलो समर्थनका कारण हङकङले आफू सामुन्ने उत्पन्न जोखिम र विभिन्न चुनौतिको सामना गर्दै आफ्नो सम्बृध्दि र स्थिरतालाई निरन्तरता दिन सफल भएको हो । यसबाट ‘एक देश,दुई प्रणाली’ को सिद्धान्त सफल उदाहरण र व्यवहारमा प्रस्तुत भएको छ । यसबीचमा मातृभूमिसँग हङकङको सबैजसो क्षेत्रमा ऐक्यबद्धता पनि कायम भएको छ ।
तीन वर्षअघि हङकङमा देखिएको असामान्य परिस्थितिको सहज समाधान पनि त्यहि ऐक्यबद्धताले समाधान गरेको बताइन्छ । हङकङको कार्यकारी परिषद्का सदस्य केनेथ फोक काइकोङ भन्छन्, ‘मातृभूमिको सहज समर्थन र सहयोग नभएको भए त्यसबेलाको असहज परिस्थितिलाई काबुमा लिन सकिँदैनथ्यो । हङकङको सुशासनलाई नयाँ अध्यायमा पुर्याउन बेइजिङले अतुलनीय योगदान पुर्याएको क्षणलाई कसैले पनि बिर्सन हुँदैन ।’
अहिले राष्ट्रिय सुरक्षा,अमनचयन र हङकङको निर्वाचन प्रणालीमा गरिएको सुझबुझपूर्ण निर्णयको सबैतिर प्रशंसा भइरहेको छ । राष्ट्रिय सुरक्षा कानुनलगायतका व्यवस्था कार्यान्वयनका कारण हङकङमा यो बीचमा पुँजी र बचतमा उल्लेनीय बृध्दि देखिएको हो । यसबीच उक्त कोषमा ३० प्रतिशतले बढोत्तरी भएको छ ।
एसियाका अन्य राष्ट्र र क्षेत्रले झैँ हङकङले पनि पछिल्लो २५ वर्षमा धेरै वटा उतारचढाव व्यहोरेको छ । एसियाली वित्तीय संकट,सार्स महामारी,अन्तर्राष्ट्रिय वित्तीय संकट र हालको कोरोना महामारी हङकङको पनि साझा चुनौति हो । यी सबै चुनौतिको समाधानमा मातृभूमि चीनले दिलैदेखिको सहयोग पनि उपलब्ध गराएको देखिन्छ । त्यहाँका यसअघिका प्रमुख कार्यकारी जोन लिका अनुसार मातृभूमिको साथ र सहयोग थिएन भने हङकङलाई ती समस्या पार लगाउन निकै गाह्रो पर्थ्यो । तर चीनको आडमा सजिलै पार लगाइएको छ ।
२५ वर्षको अवधिमा त्यहाँ पनि नयाँ पुस्ताको भूमिका महत्वपूर्ण देखिन थालेको छ । हङकङका युवाउद्यमीहरु व्यवसाय विस्तारको निम्ति मुख्यभूमितर्फ आकर्षित भएका छन् । मुख्यभूमिका क्वाङ्तोङ–हङकङ–मकाओ खाडीमा देखिएका नयाँ अवसरलाई छोप्न उनीहरु लालायित छन् ।
मार्क माक हिन्यु हङकङका त्यस्तैमध्येका एक जना युवा उद्यमी हुन् । जसले नयाँ अवसरको खोजीमा मातृभूमिलाई आधार बनाउँदै लगेका छन् । उनी हङकङस्थित रोबोटिक उत्पादक कम्पनीका सह–संस्थापक हुन् । उक्त संस्थाले पछिल्ला दिनमा आफ्ना उत्पादनका एसेम्बल्ड, प्राविधिक परीक्षण लगायतका कार्य मुख्यभूमिमा गर्न थालेको छ ।
क्वाङ्तोङ–हङकङ–मकाओ खाडीको क्षेत्रमा देखिएका व्यवसायका नयाँ अवसरले सो क्षेत्र र समग्र चीनकै आर्थिक अवस्थालाई अझ माथि लैजान मद्दत पुर्याएको देखिएको छ । भौगोलिक अवस्थितिले पनि आर्थिक विकासमा उक्त क्षेत्रको भूमिका महत्वपूर्ण भएको बताइन्छ । प्रविधिको विकास,आविष्कारको क्षेत्रमा अब हङकङ र मुख्य भूमिबीच सहयोगको नयाँ स्वरुप देखिने विश्वास गरिएको हो ।
अहिले हङकङमा रहेका चिनियाँ व्यवसाय र व्यवसायीहरुले नै उक्त कार्यमा मुख्य भूमिका निभाउने अवस्था बन्दै गएको छ । चीनले अघि सारेको बेल्ट एण्ड रोड महत्वाकांक्षी परियोजनामा पनि उनीहरुको संयुक्त सहभागिता हुने अवस्था बनेको बताइन्छ । यसमा हङकङमा रहेको बौध्दिक ज्ञान, पुँजी,सामान,प्रविधि,सूचनालाई मातृभूमिमा रहेका औद्योगिक पूर्वाधारमा प्रयोग गरेर मुलुकको आर्थिक समृद्धिलाई थप उचाईमा पुर्याउन सकिने चाइना मर्चेन्ट्स पोर्ट होल्डिङ्स कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक यिम कोङको विश्वास छ ।
मातृभूमिको सहयोगमा हङकङको अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रले पछिल्लो २५ वर्षमा प्राप्त गरेको विश्व समर्थन थप चाखलाग्दो छ । त्यहाँको पुँजी बजारमा सूचीकृत भएका कम्पनीमध्ये आधाभन्दा बढी मुख्यभूमिका हुन् । अहिले हङकङ चिनियाँ मुद्रा आरएमबीमा अफसोर कारोबार हुने मुख्य व्यावसायिक केन्द्र बनेको छ । जहाँ विश्वमा आरएमबीमा हुने ७० प्रतिशत अफसोर कारोबार हुने गरेको छ ।
उक्त तथ्यलाई पुष्टि गर्दै हङकङ विशेष प्रशासनिक क्षेत्रकी प्रमुख कार्यकारी अधिकृत क्यारी लाम भन्छिन्, ‘अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रको हैसियतलाई जोगाउँदै अघि बढेकाले आफ्नो स्थिरता र समृद्धिलाई हङकङले कायम राख्न सकेको हो । मातृभूमिसँगको बढ्दो सानिध्यताले हङकङलाई प्रविधिको आविष्कार गर्न र कला र संस्कृति जोगाउन ठूलो बल मिलेको छ ।’
प्रमुख कार्यकारी लामका अनुसार पछिल्लो २५ वर्षको अनुभवले ‘एक देश दुई प्रणाली’ को विगतको सिद्धान्तलाई व्यवहारमा प्रमाणित गरिदिएको छ ।
मुख्यभूमि र हङकङमा जनस्तरमा पनि उत्तिकै बलियो सम्बन्ध हुँदै गएको देखिएको छ । हङकङकी एउटी बालिकाले चीनको केन्द्र सरकारलाई पत्र पठाउँदै आभार व्यक्त गरेको विषयले निकै चर्चा पाएको छ । कोरोना महामारीबाट जोगाउन चीनले विकास गरेको भ्याक्सिनवारे उल्लेख गर्दै उनले भनेकी छन्, ‘समयमा भ्याक्सिन र कोभिड किट्स प्राप्त भएकाले मेरो परिवार सुरक्षित भयो । यसको लागि विशेष धन्यवाद ।’
यो वर्षको शुरुमा हङकङमा देखिएको कोभिड १९ को पाँचौं लहर रोक्न केन्द्र सरकारले विशेष सहयोग गरेको थियो । मातृभूमिको सहयोगमा छोटो समयमा अस्थायी अस्पताल बनाइएको थियो भने मुख्य भूमिबाट चिकित्सक टोली, आवश्यक औषधि र दैनिक जीवनका अत्यावश्यक सामग्री निरन्तर पठाइएको हो ।
हङकङका जनताको जीवनस्तरलाई अझ माथि उकास्न पछिल्ला केही वर्षमा धेरै वटा नियम र कानुन बनाइएको छ । उनीहरुलाई मुख्यभूमिमा पुगेर काम गर्ने वातावरणलाई निकै सरल बनाइएको हो । सन् २०१८ को सेप्टेम्बरदेखि हङकङवासीले चीनको मुख्य भूमिमा आवासीय अनुमति माग गर्न सक्ने व्यवस्था लागु गरिएको छ । यसबाट उनीहरुले पनि मुख्यभूमिमा रोजगारी, सामाजिक सुरक्षा, सञ्चयकोष, आवास, शिक्षा, स्वास्थ्य, संस्कृति र खेलकुद सेवा प्राप्त गर्न सक्छन् ।
हङकङ चीनमा समाहित भएको २५ वर्षको अवधिलाई विश्लेषण गर्दा मुलुकको चौधौं पञ्चवर्षीय योजनामा हङकङलाई अन्तर्राष्ट्रिय वित्तीय केन्द्रको रुपमा थप विकास र विस्तार गर्नको निम्ति राखिएका कतिपय योजनालाई हेर्नुपर्ने देखिन्छ । गत वर्षदेखि लागु भएको उक्त योजना सन् २०२५ सम्म कार्यान्वयन हुनेछ ।
योजनामा भनिएको छ, ‘हङकङले आफ्नै ढंगले आफ्नै ढंगले अन्तर्राष्ट्रिय प्रविधि र आविष्कार केन्द्रको विकास गर्ने छ । यो एसिया प्रशान्त क्षेत्रको निम्ति अन्तर्राष्ट्रिय कानुन र त्यसमा उत्पन्न विवाद समाधानसम्बन्धी सेवा प्रदान गर्ने महत्वपूर्ण केन्द्र पनि हुने छ । बौध्दिक सम्पत्तिको व्यापारका साथै अन्य मुलुकसँग कला र संस्कृति आदानप्रदानको निम्ति उपयुक्त स्थल बनाउन आवश्यक कार्य गरिनेछ ।’
प्रमुख कार्यकारीले भने, ‘हङकङ आफ्नो सुन्दर भविष्य र समृद्धिको निम्ति आगामी दिनमा पनि आफैँले रचनात्मक भूमिका खेल्ने छ । जसबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सफलता प्राप्त गर्न र मातृभूमिसहितको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने छ ।’
टिप्पणीहरू