मधेशमा पत्रकारका दुई कार्यविधि स्वीकृत

मधेशमा पत्रकारका दुई कार्यविधि स्वीकृत

मधेश प्रदेश सरकारले मधेश प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ र मधेश प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि–२०७९ स्वीकृत गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले कार्यविधि स्वीकृत गरेको हो ।

आमसञ्चार प्राधिकरण जनकपुरद्वारा प्रस्तावित दुवै मस्यौदा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयबाट निर्णय भएपछि गत असार ८ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दर्ता गरिएको थियो । प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि स्वीकृत गरेको हो ।

लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि स्वीकृत भएपछि मधेश प्रदेशमा सञ्चालित मापदण्ड पुगेका पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमले प्रदेश सरकारबाट लोकहितका विज्ञापन एवम् सूचनाहरु पाउने छन् ।

त्यस्तो विज्ञापन एवम् सूचना प्रकाशन गरेवापत तोकिएबमोजिम भुक्तानी दिने प्राधिकरणले जनाएको छ । साथै, आवश्यक प्रक्रिया पुर्यार उत्त कार्य अविलम्ब लागु हुने बताइएको छ ।

पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधिअनुसार मधेश प्रदेशका जुनसुकै जिल्लालाई कार्यक्षेत्र बनाएर निरन्तर पत्रकारिता गर्दै आएका पत्रकारहरुले बीमा कार्यक्रमको लाभ लिने छन् ।

बीमा कार्यक्रममा सहभागी पत्रकारले वर्षमा एक पटक एक लाख रुपैयाँसम्मको औषधि उपचार खर्च पाउनेछन् । सात लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरिनेछ । उक्त कार्यक्रमसमेत चालु आर्थिक वर्षदेखि लागु गर्ने तयारी छ ।

टिप्पणीहरू