बालेन साहले भिखारीलाई ठाउँको ठाउँ कारवाही गर्ने
काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा भीख माग्न रोक लगाएको छ । महानगरले सडक,गल्ली,पार्क,बस बिसौनी,सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक स्थानमा भीख माग्न रोक लगाएको हो ।
साधु,सन्त,जोगी वा भिक्षुलाई सनातनदेखि चलिआएको परम्पराअनुसार घर घरमा पुगी भिक्षा माग्न वा कुनै धार्मिक तथा सांस्कृतिक कार्यमा भिक्षा माग्न भने निषेध नगर्ने महानगरले जनाएको छ । तर बालबालिकालाई गीत गाउने,नाच्ने,खेल्ने वा कुनै काम गर्ने बहानामा भीख माग्न वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम र ज्याला दिएर भीख माग्न दुरुत्साहन नगर्न आग्रह गरिएको छ ।
‘बालबालिकालाई गीत गाउने,नाच्ने,खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न दुरुत्साहन नगर्न तथा नगराउन काठमाडौँ महानगरपालिका नगरसभा ११औं अधिवेशनबाट स्वीकृत नीति समेतका आधारमा यो सूचना प्रकाशित गरिएको छ,’ महानगरको सूचनामा उल्लेख छ ।
असहाय,बिरामी, बेवारिसे, अशक्तलगायतले पनि सडकमा बसेर भीख माग्न नपाइने महानगरको सूचनामा उल्लेख छ । त्यस्ता व्यक्तिका लागि महानगरले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको दाबी गरेको छ । सूचना उल्लंघन गरेमा सरोकारवाला निकायहरूको समन्वय र सहकार्यमा मुलुकी अपराध संहिताअनुसार कारबाही गरिने चेतावनी पनि महानगरले दिएको छ ।
टिप्पणीहरू