असल मानिसमाथि प्रकृति किन निर्दयी बनिदिन्छ ?

असल मानिसमाथि प्रकृति किन निर्दयी बनिदिन्छ ?

जन्मनु र मर्नु प्रकृतिको नियम र शाश्वत सत्य हो । धर्तीमा जन्मिसकेपछि कुनै पनि जीवले एकदिन प्राण त्याग्नैपर्ने हुन्छ । फरक यत्ति हो,कोही कालगतिले त कोही अकालमा मर्छन् । मृत्यु आफैंमा निकै पीडादायी हुन्छ,त्योभन्दा बढी परिवारका ज्युँदा सदस्यको लागि ।

आफ्नो मन र मुटुसँग जोडिएको व्यक्तिलाई गुमाउनु पर्दा जो कोही विक्षिप्त हुनु स्वाभाविक हो । जीवन कतिखेर टुंगिन्छ कसैलाई थाहा छैन । एकछिन अघिसम्म हाँसिरहेको व्यक्ति छिनमै यो संसारबाट बिलाउँछ । त्यसैले भनिन्छ,‘मृत्यु बाजा बजाएर आउँदैन ।’

कुनै बेला नेपाल प्रहरीको कर्मचारी प्रशासन विभागमा हाकिमसमेत रहेका मीनप्रसाद पौडेलले जीवनको उत्तरार्धमा निकै पीडादायी मृत्युवरण गर्नुपर्यो । हँसिला, सबैसँग मिजासिला, अग्ला र तन्दुरुस्त शरीरका धनी मीनप्रसाद अवकाशपछि कान्तिपुर सेक्युरिटी चलाएर बसेका थिए । यसैक्रममा उनीमाथि अकल्पनीय घटना भयो । एकदिन मर्निङवाक जाँदा गोडामा बिझेको फलामको किला नै उनको ज्यान जानुको कारण बन्यो ।

समयमै उपचार र टिटानसको सुई नलगाउँदा घाउ भन् बल्झिँदै गयो । हिँड्न नसक्ने अवस्थामा पुगेपछि मात्र अस्पताल पुगेका उनलाई चिकित्सकले अपरेशन गर्न सुझाव दिए । आफ्नो ज्यान बचाउन मान्छेले जे पनि गर्छ भनेझैँ उनी पनि कतै सरसल्लाह नगरी अपरेशनको निम्ति राजी भए । चिकित्सकले अपरेशनको निम्ति बेहोस पारेका मीनप्रसाद त्यसपछि कहिल्यै उठेनन् । बेहोसमै प्राणान्त भयो ।

यो घटनासंँगै मेल खाने अर्को एउटा त्यस्तै मार्मिक घटना छ । धेरैअघिको घटना हो यो, लिफ्टमा एक गिरी थरका व्यक्तिको बूढी औंला च्यापियो । पाटन अस्पतालमा उपचारका निम्ति पुगेका उनी सदाका लागि बिदा भए । नेपाल मेडिकल एसोसिएसनका तत्कालीन अध्यक्ष तथा बेहोस बनाउने डाकटर भोजराज जोशीसहित खटिएको टोलीमा नक्कली डाक्टर सक्रिय हुँदा उनले अकालमा ज्यान गुमाउनुपरेको हो ।

एसएसपी राजेन्द्रमान श्रेष्ठको नाम नसुनेका व्यक्ति सायदै कोही होलान् । वर्षौदेखि वीरेन्द्र प्रहरी अस्पतालको बेडमा छट्पटाइरहेका छन् । नेपालगञ्जका बासिन्दा श्रेष्ठमाथि नियति एकदमै क्रुर बनिदियो । नेपालका अब्बल प्रहरीहरुमा उनको पनि नाम जोडिन्थ्यो । २०७३ साउन १५ गते राजेन्द्रमान धरानस्थित अञ्चल प्रहरी कार्यालयमा ब्याडमिन्टन खेल्दाखेल्दै अचानक लडे ।

अत्यधिक व्यायाम गर्ने उनी त्यसपछि थलिए । राजेन्द्रमान छ वर्षदेखि वीरेन्द्र प्रहरी अस्पतालको कोमामा छन् । चुनौतीदेखि नडराउने,स्पष्ट वक्ता, कमाण्डिङ र लप्पनछप्पन नगर्ने खालका उनलाई पनि प्रकृतिले नराम्रोसँग ठगेको छ ।

त्यस्तै,स्वदेशमै केही गरौं भनेर जापानबाट नेपाल फर्किएका थिए,नकुल शेरचन । भर्खरका युवा उद्यमी शेरचन निकै जुझारु थिए । आएलगत्तै प्रहरी हेडक्वार्टर पछाडि सनराइज बैंकको छेउमा एलिस रेष्टुरेण्ट खोले जसलाई विस्तार गर्दै पार्टी प्यालेस बनाए । अब यसलाई पनि थप ठूलो बनाउनुपर्छ भन्ने सोच आयो ।

ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पससामु सिङ्गो भवन नै लिएर एलिसको शाखा विस्तारमा लागिपरे । ४२ औं जन्मदिन मनाएको भोलिपल्ट दिउँसो भवनको निरीक्षण गर्न पुगेका नकुलमाथि ठूलो बज्रपात आइलाग्यो । माथिबाट फलामको एउटा निर्माण सामग्री खसेर उनीमाथि खस्यो । त्यसपछि उनी त्यहीँ बजारिए । गत वर्षदेखि मेडिसिटी अस्पतालको कोमा रहेका उनलाई हाल घर लगिएको छ । उनको स्वास्थ्य अवस्था विस्तारै सामान्य बन्दै गएको छ ।

यी घटनाक्रमले मुलुकको लागि केही गरौं भन्ने व्यक्तिलाई प्रकृतिले पनि ठग्ने रहेछ भन्ने प्रमाणित भएको छ । अब्बल प्रतिभा र सबल विचार भएकामाथि नै नचिताएको घटना हुन पुगेको छ । यी घटनाले ‘राम्रो मान्छेलाई भगवानले पनि छिटो लैजाने रहेछ !’ भन्ने टिप्पणी सत्य साबित भएको छ ।

टिप्पणीहरू