गृहमन्त्रीको नम्बर बाँड्दै सुदन, राष्ट्रपति पौडेलमाथि गम्भीर आरोप
जेनजी आन्दोलनको स्टेक होल्डर दाबी गर्दै आएको ‘जेन जी काउन्सिल’का संयोजक सुदन गुरुङले पीडित परिवारहरुलाई अब न्यायका लागि सोझै गृहमन्त्री र उनको सचिवालयमा सम्पर्क गर्न आग्रह गरेका छन् । आफ्नो समूहले दुई महिनायता लगातार पीडित परिवारलाई न्याय दिलाउन प्रयास गरे पनि गृहमन्त्री ओमप्रकाश अर्यालको लापरवाहीले असफल भएको जानकारी दिँदै मन्त्रीको नम्बर उपलब्ध गराएका हुन् ।
गृहमन्त्री अर्याल, उनका स्वकीय सचिव धिरज जोशी र गृह सचिव रामेश्वर दंगालको नम्बर सार्वजनिक गरेका गुरुङले सोझै सम्पर्क गरेर दबाब दिन घाइते तथा पीडित परिवारलाई आग्रह गरेका हुन् । पछिल्लो समय गृहमन्त्रीको राजीनामा माग्दै आएका उनले भनेका छन्, ‘झुठा अभद्र मुद्वामा फसाएर पक्राउ गर्ने र बारम्बार हामीले रिहाईका निम्ति पीडित पक्षका परिवारलाई सघाउँदा पनि मुद्दा र धरौटीका कारणले रिहाई हुन नसेका पीडित पक्षका परिवारले अबदेखि रिहाईका निम्ति जेनजीका रगतमा उभिएर शासन गर्दै गरेका सरकारका सुरक्षा निकायका गृहमन्त्रीज्यू र स्वकिय सचिवलाई सम्पर्क गर्नुहोला ।’
‘हामी नेपाल’ एनजीओका सञ्चालक गुरुङले जेन जी समूह र सरकारबीच भएको १० बुँदे सम्झौतामा राष्ट्रपति रामचन्द्र पौडेलले हस्ताक्षर गर्न नमानेको आरोप समेत लगाएका छन् । ‘सम्माननीय राष्ट्रपतिबाट हस्ताक्षरमा भइरहेको आनाकानीका कारण जेन जी र सरकार पक्षबीच भएको सम्झौताबमोजिम भ्रष्टाचारी र हत्यारालाई छानबिन तथा कारवाहीको दायरामा ल्याउन समस्या उत्पन्न भएको छ’, उनले लेखेका छन् ।
टिप्पणीहरू