सुदनले किन लेखे त्यस्तो चिठी ?
भदौ २३ र २४ गतेको प्रदर्शनको उपलब्धि आफ्नो नाममा लेखाउन जेनजी समूहबीच तँछाडमछाड चलिरहँदा क्षतिको जिम्मा लिन भने कोही तयार छैनन् । प्रदर्शनपछि एकाएक उदाएका ‘हामी नेपाल’ नामक एनजिओका संस्थापक सुधन गुरुङ आफूलाई असली नेता भन्ने दाबी गर्दै हिँडेका छन् । अनेक नाममा उनी सरकारी बैठकहरूमा उपस्थित हुन्छन् । कर्मचारीलाई निर्देशन दिन्छन् । ७६ जनाले ज्यान गुमाएर र हजारौं घाइते भएर आएको परिवर्तनको श्रेय लिने गुरुङ र उनको संस्था क्षतिको जिम्मा लिन भने अझै पनि तयार देखिएनन् । हालै उनको संस्थाले सो आन्दोलनका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट स्वीकृति लिएको पत्र सार्वजनिक भएको छ । भदौ २२ गते प्रशासनमा दर्ता गरिएको पत्रमा स्पष्ट रुपमा कुनै अवाञ्छित गतिविधि नगर्ने वा सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याइने बचनबद्धता जनाइएको छ ।
अंकित मल्ल नामक युवाले पनि आन्दोलनका लागि अनुमति मागेका थिए । काठमाडौंका सहायक सिडिओ मुक्तिराम रिजालका अनुसार, त्यसक्रममा तीन वटा निवेदन परेको थियो । जनआस्थासँग उनले भने, ‘तीनवटा निवेदनकर्तामध्ये सुदन गुरुङको हामी नेपाल पनि हो । अंकित मल्लले निवेदन फिर्ता लिइहाल्नुभयो । यादव थरको एक जनाले पनि अनुमति लिनुभएको देखिन्छ ।’ उनका अनुसार जेनजी प्रदर्शनमा ती निवेदन जलेको छ । पत्र सार्वजनिक भएपछि गुरुङमाथि नैतिक दबाब परेको छ । शान्तिपूर्ण आन्दोलन गर्ने भनेर देशभर विध्वंश मच्चाएकोमा उनले जिम्मा लिनुपर्ने कि नपर्ने ? बहसको विषय बनेको छ । उपलब्धि लिन खोज्नेले त्यसबाट भएको क्षतिको जिम्मा पनि लिनुपर्ने जानकारहरू बताउँछन् । तर, जेनजी आन्दोलनको नेतृत्वकर्ताका रुपमा अगाडि आएका कोही पनि क्षतिको जिम्मा लिन मानिरहेका छैनन् । एकअर्कामाथि औंला ठड्याएर आफू भने ‘पानीमाथिको ओभानो’ बन्न खोजिरहेका छन् ।
यता, सर्वसाधारणले गुरुङले क्षतिको समेत जिम्मा लिनुपर्ने आवाज उठाएका छन् । उनीमाथि कानुनअनुसार कारबाही हुनुपर्ने सर्वसाधारणको माग छ । सामाजिक सञ्जाल प्रयोगकर्ता प्रकाश पिडिएलले देश खरानी पार्नेलाई कारबाही हुने कि नहुने भनी प्रश्न गरेका छन् । ‘शान्तिपूर्ण गर्छु भनेर देश खरानी पारेपछि यसलाई कारबाही हुने कि नहुने अब ?’ उनको सोधनी छ । ‘अति नै भयो’ उपनामवालाले पानी बाँड्न हिँड्नेको पोल विस्तारै खुल्दै जाने बताएका छन् । उनले लेखेका छन्, ‘पानी बाँड्न गा’को हैन र, दादा ! विस्तारै सबै खुल्छ अनि जनता ट्वाँ परेर बस्छन् ।’ कमल तामाङ्गले एनजिओले आन्दोलनको अनुमति माग्नु जायज कि नाजायज भनेका छन् ।
लेख्छन्, ‘एउटा एनजिओले आन्दोलनका निम्ति अनुमति माग्नु कत्तिको जायज छ ?’ ‘हामी नेपाल’ का सदस्य अनिल बानियाँले आन्दोलनका लागि प्रशासनबाट स्वीकृति लिइएको स्वीकारे । तर, आफूहरूले सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याएकाले जिम्मा नलिने बताउँछन् । ‘पार्टीका झोले’ हरूले घुसपैठ गरेको उनको आरोप छ । जनआस्थासँग भने, ‘हामीले किन जिम्मा लिने ? हामीले जलाएको प्रमाण छ र ? पार्टीका झोलेहरूले आतंक मच्चाउने काम गरेका हुन् ।’
(जनआस्था साप्ताहिकको मंसिर १७ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू