जवानको तालिममा खर्च उठाउने सशस्त्रका एसएसपी पोखरा तानिए

जवानको तालिममा खर्च उठाउने सशस्त्रका एसएसपी पोखरा तानिए

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका छ जना वरिष्ठ उपरीक्षक (एसएसपी) र सात जना कायम मुकायम एसएसपीको सरुवा गरेको छ । सशस्त्र प्रहरी मुख्यालयले आज मन्त्रीस्तरीय बैठकले गरेको सरुवासम्बन्धी निर्णय किताबखाना र सम्बन्धित कार्यालयलाई पत्र लेखेर जानकारी गराएको हो ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ को उपनियम १ (ख) अनुसार साधारण समूह र उपसमूहतर्फ एसएसपी र कामु एसएसपीको सरुवा गरिएको सशस्त्र प्रधान कार्यालयले जनाएको छ ।

जसअनुसार सशस्त्रको जवान तालिम शिक्षालय नौवस्ता, बाँकेमा कार्यरत एसएसपी कृष्णराज पाठकलाई मुक्तिनाथ बाहिनी मुख्यालय कास्की सरुवा गरिएको छ भने प्रबन्ध महाशाखाका दिपेन्द्र शाह यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी पुगेका छन् । वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका सुरेशकुमार श्रेष्ठलाई हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन, पोखरा पठाइएको छ ।

सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट, नवलपरासीका पुरुषोत्तम थापा मानव स्रोत विभाग तानिएका छन् । प्रशिक्षण प्रतिष्ठानका मनिष थापालाई पनि मानव स्रोत विभागमै ल्याइएको छ । मानव स्रोतका प्रकाश थापालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार खटाइएको छ ।

कामुतर्फ विष्णुप्रसाद भट्टलाई छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट झिकेर आइजीपीको सचिवालयमा लगिएको छ भने प्रतिकार्य तथा सीमा सुरक्षा विभागका भुपेन्द्र केसी जवान तालिम शिक्षालय नौबास्ता बाँके पुगेका छन् ।

आइजीपीको सचिवालयमा रहेका कमलप्रसाद तिउसिना राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा र सुरक्षा परिषद्को सचिवालयका सुधिरजंग थापालाई एपीएफ इन्टेलिजेन्स ब्यूरोमा लगिएको छ । त्यसैगरी, इन्टेलिजेन्सका दिपेन्द्र कुँवर (ख) लाई प्रबन्ध महाशाखामा लागिँदा मुक्तिनाथ बाहिनीका राजेन्द्र खड्कालाई प्रतिकार्य तथा सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ ।

सशस्त्र मुख्यालयले राष्ट्रिय किताबखानालÞाई पत्राचार गर्दै सरुवा भएका एसएसपी र कामु एसएसपीहरुको अभिलेखमा आवश्यक व्यहोरा जनाइदिन भन्दै त्यसको बोधार्थ सम्बन्धित कार्यालयलाई पठाएको छ ।

टिप्पणीहरू